प्रेम देवान/संगालोखबर

विराटनगर, १२ असोज । प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रदेश १ को सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीको टुंगो लगाउनको लागि आन्तरिक तयारी गरेको छ ।

Advertisement

प्रदेशको नाम र राजधानीको बारेमा प्रदेशसभामा दुईतिहाइ बढी मत रहेको नेकपाभित्रै मतैक्य नभइरहेको बेला नेकपाले त्यसको टुंगो लगाउन संसदीय दलको बैठक समेत बोलाएको छ ।

आगामी असोज १५ र १६ गते विराटनगरमा संसदीय दलको बैठक बसी प्रदेशको राजधानी टुंगो लगाउने तयारी नेकपाले गरेको स्रोतले जनाएको छ ।

नेकपा संसदीय दलका सचेतक वृद्धिकुमार राजभण्डारीले संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानीबारे पनि छलफल हुने जानकारी दिँदै नामलाई थाती राखेर राजधानी तोकिने सम्भावना रहेको जानकारी दिए । प्रदेश संसदीय दलको बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन नेकपाले निर्देशन दिएको छ ।

दलको बैठकमा संसदीय समितिहरूको सभापति चयन र मन्त्रिमण्डल विस्तार गर्ने विषयमा पनि छलफल हुने संभावना रहेको राजभण्डारीले जानकारी दिए ।

नेकपा संसदीय दलले प्रदेशको अस्थायी राजधानी रहेको विराटनगरलाई नै स्थायी राजधानी तोक्ने तयारी गरेको स्रोतले जनाएको छ । पार्टीको शीर्ष तह र प्रदेश सरकारमा विराटनगरलाई नै राजधानी बनाउने सहमति जुटिसकेकाले अनुमोदनका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!