
धनकुटा, १० असोज । उनको अवस्था यति दयनिय छ कि, उनको कष्टकर दैनिकी नियाल्ने जो कोहिलाई पीडा बोध हुने गर्छ । दुवै हात खुट्टा फलामे साङ्गलाले खम्बामा बाधेर पशुलाई जस्तै राखिएको छ । आर्थिक अभावमा उपचारबाट बञ्चित २१ वर्षिय युवकको अवस्था विगत ६ महिनादेखि कष्टकर बन्दै गएको छ ।
धनकुटा नगरपालिका १० मार्गाका मोहन श्रेष्ठ यसरी बन्धक भएका हुन् । धामिझाक्रीको भर पर्दा महिनौंदेखि उनी फलामे साङ्गलाको बन्धनमा परेका छन् । सुरुमा मानसिक असन्तुलनको लक्षण देखा परेपछि उनलाई धामिझाक्रीबाट झारफुक गरिएको उनका बाबु पहलमानले बताए । गत चैत महिनादेखि उनमा असामान्य अवस्था आएपछि परिवारजनले झारफुकमा एकपछि अर्को धामीको भर पर्दै गए ।
कतिपय धामीझाक्रीले कुखुराको भाले र रकम माग गर्दै श्रेष्ठलाई निको पारिदिने आश्वासन दिएको बाबु पहलमानले जानकारी दिए । ‘निको पारिदिने भन्दै धामीझाक्रीले धेरै खर्च गरिदिए’, उनले भने, ‘तर बीसको उन्नाईस नभएपछि ढिलो गरेर अस्पताल पुर्याएपनि उपचार खर्च अभावमा घरैमा ल्याएर बाँधेर राखेको हो ।’ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेपनि खर्च अभावका कारण घर फर्काएर ल्याइएको मोहनकी दिदी गीताले बताइन् ।
आफ्नै घरका बाख्रा, छिमेकीको सुँगुर र अन्य पशुपन्छि समेत मार्न थालेपछि सुरुमा प्रहरीमा उजुरी गरिएको काका चन्द्रले बताए । तर प्रहरीले मानसिक असन्तुलन भएको भन्दै घरैमा फर्काएका थिए । त्यसपछि टेलिभिजन फुटाउने, घरको ढोका झ्याल नै तोडफोड गर्ने, कपडा च्यात्ने लगायतका गतिविधि थालेपछि अन्तिम विकल्पको रुपमा साङ्गलोले बाँधिएको उनले बताए ।
हात खुट्टा र सरिरमा घाउखटिरा रहेको छ । छोराको अवस्थालाई आफुले हेर्न समेत नसक्ने भन्दै आमा इन्दिराले आँसु झारिन् । उनले गरिबीको कारण छोरालाई उपचार गराउन नसकिएको बताइन् । सुरुवाती दिनमा निको होला ठानेर धामीझाक्रीको भर परेपनि अस्पतालमा उपचार गराउन खर्च अभाव नै मुख्य कारण रहेको बताइन् ।
उनले छोराको उपचारका लागि मनकारी व्यक्तिहरुबाट सहयोगको याचना समेत गरेकी छिन् । घरिघरि बर्बराउने र अधिकांस समय मौन बस्ने मोहन परिचित व्यक्तिसंग दोहोरो कुरा समेत गर्छन् ।
परिवारको आर्थिक अभावका कारण ७ कक्षा पढेर पढाई टुंग्याएका उनी घरको काम सघाउँदै आएका थिए । पछिल्लो समय मादक पदार्थ सेवन गर्दै अस्वभाविक कार्य गर्न थालेपछि मानसिक असन्तुलनको अवस्था आएको छिमेकी माधव श्रेष्ठले बताए ।
भिडियो हेर्नुहोस्…
https://www.facebook.com/ramesh.kantipur/videos/2294373147259262/















