धनकुटा, ८ असोज । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तथा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको दोषी माथि कारवाहि लगायतको माग राख्दै नेपाल विद्यार्थी संघले सोमवार विरोध प्रदर्शन गरेको छ ।
नेविसंघमा आवद्ध विद्यार्थीले धनकुटा बहुमुखी क्याम्पसको मुल गेट अगाडि आधा घण्टा चक्का जाम गरेर विरोध प्रदर्शन समेत गरेका छन् । ११ बजेदेखि साढे ११ बजेसम्म चक्काजाम गरिएको जनाईएको छ ।
चाडपर्वको मुखमा आएर सरकारले जनताको ढाडसेक्ने गरी पेट्रोलियम पदार्थको मुल्य वृद्धि र देशमा दिनानुदिन बढीरहेको बलात्कारका घटनाका दोषीलाई कारवाहि गर्न नसकेको भन्दै चक्काजाम गरिएको नेविसंघले जनाएको छ ।
चक्का जामपछिको कोण सभामा बोल्दै नेपाल विद्यार्थी संघ धनकुटा सभापति बालानन्द दाहालले जनतामारा सरकारले पेट्रोलियम पदार्थको मुल्यबृद्धि र सवारी भाडा तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
उनले निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समयसम्म दोषी पत्ता नलगाएर सरकारले अपराधिको संरक्षण गरिरहेका आरोप लगाए ।