मोरङ, ७ असोज । मोरङमा सृङ्गखलाबद्ध अपराधका घटना भइरहेको अवस्थामा पुनः होमपाईपभित्र एक पुरुषको वेवारिसे अवस्थामा सडेको लाश फेला परेको छ ।
विराटनगर १८ बुधनगर जाने बाटो नजिकै खेतबारीको होमपाईपमा आइतवार शव फेला परेको हो । टाउको र शरिर सडिसकेको कारण पहिचान हुन नसकेका करिब ३० वर्षीय व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले करिब एक घन्टा पछि जेसीवीको प्रयोग गरेर होमपाईप भित्र रहेको शव निकालेका थिए ।
शवलाई पोष्टमार्टको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी निशान थापाले जानकारी दिए ।
यसअघि विराटनगर महानगरपालिका १४ स्थित निर्माणाधिन रेल्वे ट्रयाकमा गत साउन १८ गते नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । कल्भर्टमुनिको दहमा नग्न अवस्थामा भेटिएकी युवतीको अझै पहिचान हुन सकेको छैन ।
त्यसैगरी केही समय अगाडी सेक्युरीटी गार्ड, शिखा हत्या काण्ड, महानगरको बम काण्ड लगायतका घटना घटिसकेका छन् । यसबाट जिल्लाको सुरक्षा अवस्थामा प्रश्न चिन्ह उब्जिएको स्थानीयको गुनासो छ ।