प्रेम देवान/संगालोखबर

मोरङ, २६ भदौ । मोरङका दुई स्थानमा मंगलवार भएका सवारी दुर्घटनामा परी दुई महिलाको मुत्यु भएको छ भने ६ जना घाईते भएका छन् । विराटनगर बसपार्क दक्षिण कोशी राजमार्गमा विहान करिव ११ बजे ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक महिलाको मृत्यु भयो । दुर्घटनामा दुई जना घाईते छन् ।

Advertisement

महेन्द्रचौकदेखि जोगबनीतर्फ जादै गरेको एच.आर.५५ एल.१४१९ नम्बरको भारतीय मालबाहक ट्रकले सोहि दिशातर्फ जादै गरेको को.५ प.३२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा रंगेली–७ बस्ने ३० बर्षीया आसु अग्रवालको मृत्यु भएको हो ।

श्रीमान मनोज अग्रवालले चलाएको मोटरसाईकलको पछाडी सवार आसुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक मनोज र सोहि मोटरसाईकलमै सवार उनकी छोरी ७ बर्षीया अनिशा अग्रवाल पनि घाईते भएका छन् । घाईते दुवैको सप्तकोशी नर्सिङ अस्पतालमा उपचार भईरहेको छ ।

मृतक आसुको शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक शिव पोख्रेलले संगालोखबरलाई जानकारी दिए ।

त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–७ छधारे स्थित पूर्वपश्चिम लोकमार्गमा बिहान करिव साँढे १० बजे यात्रुबाहक बसलाई उछिन्ने क्रममा कार पल्टिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाईते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ ख.६४३५ नम्बरको बसलाई बा.१९ च.६१२२ नम्बरको कारले ओभरटेक गर्ने क्रममा बसको अगाडीको भागमा ठोक्किएर अनियन्त्रित भई कार पल्टिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पोख्रेलले बताए ।

उनका अनुसार दुर्घटनामा परी घाईते भएकी धरानकी ५५ बर्षीया ललिता अग्रवालको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी चितवनको भरतपुरका ३२ बर्षीय अनिल अग्रवाल, ३० बर्षीया गिता अग्रवाल, ९ बर्षीय बरुण अग्रवाल र धरानका ८१ बर्षीय विश्वनाथ अग्रवाल घाईते भएका छन् ।

दुर्घटनापश्चात बस र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!