वुद्ध तामाङ/संगालोखबर

भोजपुर, २० भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्‍गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरे लगातै प्रहरीले पुनः पक्राउ गरेको छ ।

Advertisement

ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी मुद्दा लागेका ‘प्रकाण्ड’ लाई अदालतले ६० हजार धरौटीमा रिहा गरेको थियो । रिहाई भए लगत्तै उनलाई प्रहरीले पुनः पक्राउ गरी दाङ लगेको हो ।

यसअघि सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको भोलीपल्टै उनलाई विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राती भोजपुर ल्याईएको थियो ।

प्रकाण्डले टेम्के मैयुङ गाउँपालिका–६, कोट गुम्बामा शेरधन राई चढेको गाडीमा बम विष्फोट गराएको, षडानन्द नगरपालिका १३ तीनतले भिरथाप्लामा बम विष्फोट गराएको र साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा बाम गठबन्धनको चुनावी सभामा बम विष्फोट गराएको आरोप छ ।

तीन वटै मुद्दामा उनलाई ६० हजार धरौटीमा रिहा गरिएको जिल्ला अदालत भोजपुरका सुचना अधिकारी मणिराम पोख्रेलले बताए ।

उनी रिहाई भएलगत्तै पुनः पक्राउ गरी दाङ लगिएको भएपनि के कारण पक्राउ गरिएको भन्ने बिषय जानकारी नभएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी केशब कुमार थेबेले बताए । यसअघि पनि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो ।

उनीसहित ‘विप्लव’ का उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकीलगायत विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!