काठमाडौँ, १९ असार । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ। पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ।
तराईका झापादेखि बर्दियासम्मको भूभाग डुबानमा परेको छ। प्रदेश ५ मा मात्र आठ जनाको ज्यान गएको छ। त्यसमध्ये बाँकेमा चार जनाले ज्यान गुमाएका छन् भने रोल्पामा तीन जनाको मृत्यु भएको छ। दाङमा एक जनाको मृत्यु भएको छ।
प्रदेश २ को पर्सा जिल्लामा बाढीले बगाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। प्रदेश ७ को कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
राजधानी काठमाडौंमा एक जनाको मृत्यु भएको छ भने सिन्धुलीमा खोलामा डुबी एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।,
सबै जिल्लालाई गृहको सर्कुलर
गृह मन्त्रालयले सोमबार ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखलाई जिल्ला नछोड्न सर्कुलर जारी गरेको छ।लगातारको वर्षासँगै देशभरि बाढीपहिरोले जनधनको क्षति भएपछि गृहले सबै जिल्लाका सिडिओ र प्रहरी प्रमुखलाई पत्र लेख्दै जिल्ला नछाड्न कडा सर्कुलर जारी गरेको हो। आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।