काठमाडौँ, १७ जेठ । नेपाल–भारतबीच विगतका सन्धी/सम्झौता पुनरावलोकनका लागि राय सुझाव दिन गठित प्रवुद्ध व्यक्ति समुह (इपीजी)ले साझा प्रतिवेदन तयार गरेको छ । तोकिएको २ वर्षे कार्यअवधि अगावै इपीजीको नवौं बैठकले साझा प्रतिवेदन तयार गरेको हो ।
निकै चर्चामा रहेको सन् १९५० को शान्ति तथा मैत्री सन्धी, जलस्रोत, खुला सीमा व्यवस्थापन, व्यापार, पारवहन लगायतका विषय समेटेर एउटै प्रतिवेदनलाई अन्तिम रुप दिइएको समूहको नेपालतर्फको सचिवालयले जनाएको छ ।
यसैगरी आतंकवाद, लागु औषध नियन्त्रण, अवैध मुद्राको कारोवार नियन्त्रणजस्ता विषयबारेको सुझावलाई पनि प्रतिवेदनमा समेटेको बताइएको छ ।
शुक्रवार काठमाडौंमा शुरु भएको समुहको नवौं तथा अन्तिम संयुक्त बैठक शनिबार सम्पन्न भएको हो । दुवै मुलुकबाट ४/४ जना प्रवुद्ध व्यक्ति संलग्न समुहको २ वर्षे कार्यअवधि यही सातासम्म तोकिएको छ ।
१९५० को सन्धी पुनरावलोकन गर्ने विषय पहिलो बैठकदेखि नै हरेक बैठकमा इपीजीको मुख्य एजेण्डा बनेको थियो । सो सन्धी पुनरावलोकन गर्न भारतीय पक्ष सकारात्मक बनेपछि अन्य समग्र विषयलाई समेटेर अहिले साझा प्रतिवेदन तयार पारिएको समुहका नेपालतर्फका एक सदस्यले बताए ।
‘१९५० को सन्धी पूर्ववत अवस्थामा रहँदैन, २१ औं शताब्दी सुहाउँदो सन्धी पुनरावलोकन गर्न सुझाव समेटिएको छ’– ती सदस्यले नेपाल समाचारपत्रसँग भने ।
दुवै मुलुकसँग सरोकार राख्ने अधिकांश विषयमा साझा धारणा र सुझाव समेटेर रिपोर्ट तयार गरिएको उनले बताए । अाजकाे नेपाल समाचारपत्रमा याे खबर छ ।