काठमाडौँ, १४ असार । लामो समयदेखि कर्मचारीको किचलो झेल्दै आएको संघीय सरकारले संघीय स्थानीय तहमा थप दश हजार कर्मचारी पठाउने तयारी गरिरहेको छ ।
लामो समयदेखि केन्द्रमा हालिमुहाली गर्दै आएका कर्मचारीहरु स्थानीय तहमा जान अटेर गरिरहेको बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो गृहकार्य अघि बढाएको हो ।
स्थानीय तहमा भइरहेको कर्मचारी अभावलाई असारभित्रै पूर्ति गर्ने उदेश्य सहित सो गृहकार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
राज्यलाई ढाटेर केन्द्रमै बस्ने कर्मचारीलाई स्थानीय तहमा जान अटेर गरेमा कडा कारवाही गर्ने चेतावनी सहित मन्त्रालयले सो तयारी अघि बढाएका बुझिएको छ ।
अव १० हजार कर्मचारी गएपछि कुनै पनि स्थानीय तहमा कर्मचारी अभाव नहुने प्रवक्ता अधिकारीकोे भनाई रहेको छ । अहिले ७ सय ५३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएपनि योजना तर्जुमा गर्ने , लेखा , कानून सम्बन्धी बुझेका अधिकृत, खरिदार र सुब्बा तहका कर्मचारी खासै पुगेका छैैनन् ।
संघीय मामिला तथा स्थानीय बिकास मन्त्री लालबाबु पण्डितले मन्त्रालय सम्हाल्नुभएपछि केन्द्रबाट ४ सय ६१ जना कर्मचारी स्थानीय तहमा खटिएका थिए ।, आजको नेपाल समाचारपत्रमा खबर छ ।