सुर्खेत, १० असार । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले आव २०७५/७६ का लागि रु ९६ करोड बजेट प्रस्तुत गरेको छ ।

Advertisement

तेस्रो नगरसभामा उपप्रमुख मोहनमाया भण्डारी (ढकाल) ले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि रु ९६ करोड २२ लाख ९३ हजारको बजेट सार्वजनिक गर्नुभएको हो । उपप्रमुख ढकालका अनुसार विनियोजित बजेटमा आन्तरिक आय रु सात करोड ४० लाख ६० हजार र बाह्य स्रोत रु ८६ करोड ३४ लाख २३ हजार गरी प्रस्तावित बजेट जम्मा रु ९३ करोड ७४ लाख ८३ हजार हुने अनुमान गरिएको छ ।

आयभन्दा व्यय बढी भएकाले रु दुई करोड ४८ लाखको घाटा बजेट नगरपालिकाको चालु आर्थिक वर्षको बचत तथा आन्तरिक ऋणबाट व्ययभार गर्ने उहाँले जनाउनुभयो । नगरसभामा पूँजीगततर्फ रु ३४ करोड ४४ हजार र चालुतर्फ रु ६२ करोड २२ लाख ३९ हजार बजेट विनियोजन गरिएको बताइएको छ ।

त्यस्तै सभामा उहाँले चालु आव २०७४/७५ को कूल रु ६५ करोड ५४ लाख तीन हजार प्रस्तावित बजेटमा आन्तरिक आय र बाह्य स्रोतबाट रु ७६ करोड ७२ लाख ३३ हजार आम्दानी भएको जानकारी दिनुभयो ।

चालु आवको पूँजीगततर्फ विनियोजित रु ४० करोड नौ लाख ३२ हजारमा हालसम्म रु १५ करोड ७८ लाख, ८६ हजार ३९५ खर्च भएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

त्यसैगरी चालूगत विनियोजित रु २५ करोड ४४ लाख ७० हजारमा रु ३२ करोड ७१ लाख ७७ हजार खर्च भएको छ । दुवै शीर्षक गरेर कूल रु ६५ करोड ५४ लाख तीन हजार विनियोजित बजेटमा रु ४८ करोड ४४ लाख ८६ हजार ४७३ (७४ प्रतिशत) खर्च भएको जनाइएको छ ।

उक्त सभाको उद्घाटन गर्दै पूर्व संस्कृति तथा पर्यटनमन्त्री एवं प्रदेशसभा सदस्य यामलाल कँडेलले शहरको आवश्यकतामा आधारित योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘‘सुविधा र भत्ता भए बैठकको कोरम पुग्ने प्रणालीको अन्त्य गरौँ । वीरेन्द्रनगर प्रदेश राजधानी भएकामा गर्व मात्र नगरी थपिएको जिम्मेवारी जनप्रतिनिधि सबैले पूरा गरौँ ।”

उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य सीता नेपाली, यज्ञबहादुर बिसी, राजु गैरे र जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले नगरपालिकाले ल्याएको बजेटलाई कार्यान्वयनतर्फ जोड दिन र विकासलाई प्रतिफलमुखी बनाउन सुझाव दिनुभएको थियो ।

नगरप्रमुख देवकुमार सुवेदीले कर्णाली प्रदेशको समृद्धिको झल्को वीरेन्द्रनगर नगरपालिकाले दिने बताउनुभयो । बजेटले नगरपालिकाको समग्र क्षेत्रको विकासलाई समेट्ने भन्दै उहाँले विकास र समृद्धिको यात्रामा आम नागरिकलाई पनि आ–आफ्नो क्षेत्रको जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!