ताप्लेजुङ, ७ वैशाख। ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबार पदयात्रा महोत्सव आयोजना गरियो । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सप्ताहव्यापी उक्त महोत्सव पाँचथरको वसन्तपुरबाट प्रारम्भ भई ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुगेर टुंगिएको थियो ।

Advertisement

सरोकार केन्द्रले पाँचथरबाट पदमार्गको विकास गरी ती ठाउँको प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको पदयात्राका संयोजक चित्रगुप्त सावाले जानकारी दिनुभयो । “प्रचारको अभावका कारण पाँचथर–तेह्रथुम–संखुवासभा–ताप्लेजुङ पदमार्ग प्रयोग गर्ने तीर्थयात्रुको संख्यामा कमी आएको छ,” सावाले भन्नुभयो । ती ठाउँको प्रचारप्रसारका कारण वर्षेनि करिब पाँच लाख तीर्थयात्री पाथीभरासम्म पुग्ने गरेका छन् ।

“आगामी वर्षमा दश लाख तीर्थयात्री पु¥याउने लक्ष्य छ,” उहाँले भन्नुभयो ।

तीर्थयात्री इलामको बाटो हुँदै पाथीभरा पुग्ने गरेका छन् । पूर्वाधारको अभावका कारण पाँचथर हुँदै स्थानीयवासी बाहेक अन्य पर्यटकले उक्त बाटोको प्रयोग गर्ने गरेका छैनन् । पाँचथरकोे तीनजुरे क्षेत्र गुराँसका कारण प्रख्यात छ । उक्त क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस पाइने गर्छ । उक्त ठाउँको प्रचारपूसारको अभावका कारण त्यहाँ पर्यटक पुग्नसकेका छैनन् ।

तीनजुरे क्षेत्रमा पाइने गुराँसको संरक्षणका लागि गुराँस प्रयोगशालाको स्थापना गर्ने तयारी भइरहेको मादी नगरपालिकाका नगरप्रमुख विदुर सुब्बा बताउनुहुन्छ । “प्रयोगशालाको स्थापना गरी कर प्रणालीको पनि विकास गरिनेछ,” उहाँले भन्नुभयो । कर प्रणालीबाट नगरको आर्थिक स्रोतमा वृद्धि हुने उहाँको भनाइ छ । प्रयोगशालाको स्थापनाबाट लाखाँैं पर्यटक भित्र्याउने लक्ष्य छ ।

चैत– वैशाखको समयमा फुलिसक्ने गुराँस जलवायु परिवर्तनका कारण यस वर्ष फुलेको छैन । पाँच वर्षभित्र नगरमा गुराँस संग्रहालयको स्थापना गरिसक्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो । पाँचथर हुँदै पाथीभरासम्म पुग्ने पदमार्गका होटल पर्यटकको अभावकै कारण सोचेअनुरुप सञ्चालन हुन सकिरहेका छैनन् । सञ्चालन भएका होटल पनि राम्रोसँग चल्न सकेका छैनन् । आन्तरिक पर्यटक बाहेक बाह्य पर्यटकका लागि भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन ।

“सोचेअनुरुप सेवा सुविधा दिन सकिएको छैन,” संखुवासभाका होटल व्यवसायी हरि खनालले भन्नुभयो, “सरकारीस्तरबाट नै हाम्रो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरिदिए व्यवसाय सञ्चालन गर्न सहज हुने थियो ।” पूर्वाधार अभावका कारण पुरानै शैलीमा होटल सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ । मदन भण्डारी राजमार्गको काम छिटोछरितो रुपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पर्यटकीय क्षेत्रका रुपमा यी क्षेत्र विकास हुनसके पर्यटकलाई अर्गानिक खाना खुवाउन सकिने होटल व्यवसायी बताउँछन् । पाँचथर हुँदै पाथीभरासम्म पुग्ने सडक निर्माण दुई वर्षभित्र पूरा गरिसक्ने प्रतिनिधिसभा सदस्य योगेश भट्टराई बताउनुहुन्छ । उहाँले मदन भण्डारी राजमार्गको निर्माणका लागि रु दुई अर्ब रकम विनियोजन गरिएको बताउनुभयो ।

पर्यटकका लागि पदमार्ग निर्माण सरकारीस्तरबाट छिट्टै गर्ने तयारी भइरहेको छ । मदन भण्डारी राजमार्गले पाँचथर, तेह्रथुम, संखुवासभा हुँदै ताप्लेजुङलाई जोड्नेछ । राजमार्ग बनेसँगै पदमार्गको निर्माण भए यहाँका विभिन्न पर्यटकीय क्षेत्रमा सञ्चालित होटल व्यवसाय फस्टाउने आशा गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!