अर्जुनधारा, झापा ७ वैशाख। स्थानीय सरकारले लागू गरेको निर्णय विपरीत नगरपालिका अन्तर्गतका मुख्य सडकमा तोकिएको समयबाहेक निर्माण सामग्री ढुवानी गरी गुड्ने यातायातका साधनलाई नियन्त्रणमा लिन थालिएकोे छ ।

नगरपालिकाको सूचना अनुसार अव्यवस्थित तरिकाले गुड्ने उक्त यातायातका साधनका कारण आवागमनमा समस्या, ध्वनी प्रदूषण तथा दैनिक जनजीवनमा असर पर्न गएको गुनासो नगरवासीले गरेपछि नगर बोर्डको गत फागुन २७ गते सम्पन्न बैठकले गत मंगलबारदेखि लागू हुनेगरी सो सडकमा बिहान ९ देखि १० बजेसम्म, दिउँसो ३ः३० देखि ४ः३० बजेसम्म र राति ९ देखि बिहान ५ बजेसम्म त्यस्ता ढुवानी गर्ने सवारी साधन गुड्न रोक लगाएको हो ।

Advertisement

नगरपालिकाका मुख्य सडक 

नगरपालिकाको तथ्यांक अनुसार बिर्तामोड–महानन्दचोक–शनिश्चरे–जयपुर सडक, बिर्तामोड–शनिश्चरे–खुदुनावारी सडक, चारपाने–ओमचोक–नारायणचोक–हात्तीकिल्ला–बरडाँडा–बुधबारे सडक, लक्ष्मीपुर–पानीकल–रातेखाल–तामाङचोक–मदनपुर सडक र दुर्गापारी–दानाबारी सडकलाई मुख्य सडक मानिएको छ ।

यसैबीच शनिश्चरे प्रहरी चौकीका सुरेशकुमार संग्रौला र ट्राफिक बिट प्रमुख प्रहरी हबल्दार दलबहादुर खत्रीको संयुक्त जाँच टोलीले आज १७ वटा ट्रिपर तथा ट्र्याक्टर नियन्त्रणमा लिइएको चौकीका प्रमुख संग्रौलाले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका ती साधनलाई पहिलोपटक सचेत गराई छोडिएको र फेरी निषेध गरिएकोे समयमा चलाएको नगरपालिकासँगको समन्वयमा कारबाही गरिने हवल्दार खत्रीले बताउनुभयो ।

यता अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सो निर्णय कार्यान्वयन गर्न आफू लाग्ने बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!