तेह्रथुम, ६ वैशाख। आर्थिक अभावमा समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले गरीब दुःखीको उपचारमा रु ३० लाखभन्दा बढी पैसा खर्च गर्नुभएको छ ।

Advertisement

इजरायलमा कार्यरत बाँस्कोटाले १० वर्षको अवधिमा यत्तिका धेरै रकम अरुलाई सहयोगमै खर्च गर्नुभएको छ । दशकअघि गाउँकै साहुसँग चर्को ब्याजदरमा ऋण खोजेर खाडीमुलुक कतार पुग्नुभएका बाँस्कोटाले पहिलो महिनाको कमाइबाटै दुखी गरीबलाई सेवा गर्न थाल्नुभएको थियो ।

“दुईचार पैसा कमाएर कसरी दुःखी गरीबलाई सहयोग गर्न सकिन्छ भन्ने भावनाले पहिलेदेखि नै पोलिरहन्थ्यो,” हाल इजरायलमा रहेका बाँस्कोटाले टेलिफोनमा भन्नुभयो, “जति पैसा कमाए पनि अरुको सेवामै खर्च गरिरहेको छु ।”

पैसा अभावमा आमालाई बचाउन नसक्दाको पीडाले समाज सेवामा लाग्न प्रेरित गरेको उहाँले बताउनुभयो । दश वर्ष प्रवास बसाईमा रु ३० लाखभन्दा बढी प्रत्यक्ष आर्थिक सहयोग गरिसकेको बाँस्कोटाले बताउनुभयो ।

पारिवारिक अवस्था अत्यन्तै कमजोर रहेका बाँस्कोटाको विदेशयात्रा धन कमाउने सपना बोकेर १० वर्षअघि साउदी अरबबाट शुरु भएको थियो । उहाँको वैदेशिक रोजगारीको यात्रा अहिले इजरायल पुगेको छ । यो अवधिमा उहाँले समाजमा नाम र दाम दुवै कमाउनुभएको छ ।

गीतसंगीतको क्षेत्रमा समेत संघर्ष गरिरहनुभएका बाँस्कोटाले नेपालका जुनसुकै क्षेत्रमा रहेका भए पनि आपत्विपत्मा परेका नेपालीलाई प्रवासबाटै सहयोग गर्दै आएको बताउनुभयो । प्रवासमा दुःख गरेर जोहो गरेको पैसाबाट आफूले भौतिक पूर्वाधार निर्माण, पुरस्कार प्रायोजन र बिरामीको उपचारका लागि ठूलो खर्च गरेको उहाँले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!