धरान, २६ चैत्र । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको भ्रष्टाचारका विषयमा धरानका युवाहरुले प्रतिष्ठानका उपकूलपतिलाई र्याखर्याख्ती पार्दै अल्टिमेटम सहित ज्ञापनपत्र दिएका छन् ।

Advertisement

धरान एक्सन ग्रुपले प्रतिष्ठानमा भईरहेको सम्पूर्ण भ्रष्टाचारको निष्पक्ष रुपमा छानविन गरी भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै सात दिने अल्टिमेटम दिएका हुन् ।

आज प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारलाई ज्ञापनपत्र बुझाउँदै धरान एक्सन ग्रुपले एक हप्ता भित्र सत्य तथ्य सार्वजनिक नगरे आन्दोलन समेत गर्ने चेतावनी दिएको छ ।

प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई १.५ टेस्ला उपकरणमा लागत भन्दा डेढ गुणा बढि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेण्डर प्रक्रियाका फायलहरु समेत नियन्त्रणमा लिएको र पछिल्लो समय प्रतिष्ठानका पदाधिकारीहरुलाई बयानका लागि बोलाएपछि एक्सन ग्रुपले आफ्नो ध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्र बुझाएको हो ।

गत साता अख्तियारले प्रतिष्ठानका पदाधिकारीलाई बयानका लागि बोलाएपछि उपकूलपति डा. राजकुमार रौनियारले हतारहतार टेण्डर नै रद्द गरेका थिए । एलसी समेत खोलिएको अवस्थामा उपकूलपतिको एकल निर्णयले टेण्डर रद्द गरेपछि भ्रष्टाचारको कर्तुत पर्दाफास भएको थियो ।

गत साउन २६ गते पनि प्रतिष्ठानमा भएका भ्रष्टाचारको छानविन हुनुपर्ने, स्वास्थ्य सेवा सुधार्नुपर्ने लगायतका माग राख्दै ग्रुपले प्रतिष्ठानमा ज्ञापनपत्र बुझाएको थियो । तर, प्रतिष्ठानका उपकुलपतिले धरानका नागरिक समाज र युवाहरुको कुरा समेत नसुनी अस्पतालको सेवा सुधार गर्नुको सट्टा उल्टै उपकरण खरिद, अंकोलोजी र कार्डियोलोजी भवन निर्माणमा करोडौंको चलखेल गरेका थिए ।

धरान एक्सन ग्रुपले प्रतिष्ठानका उपकूलपति डा. रौनियारलाई ज्ञापनपत्र बुझाउँदै एक साताभित्र मागहरुको सुनुवाई नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने तथा सार्वजनिक सुनुवाई नै गरी पदाधिकारीका कर्तुतहरु सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

‘प्रतिष्ठानको पूर्ण पारदर्शिता हाम्रो अधिकार हो’ भन्दै धरान एक्सन ग्रुपले स्वास्थ्य संस्था जस्तो पवित्र स्थलमा भएको आर्थिक हिनामिनाको भत्सर्ना गरेको छ ।

प्रतिष्ठानका उपकूलपतिलाई बुझाईएको ज्ञापनपत्रमा भनिएको छ । ‘सेवामुखी संस्थालाई दुहुनो गाई जस्तो बनाई लुट्नेहरुको आर्थिक हैसियत दिनानुदिन बढिरहेको र हिजो चप्पल लगाउनेहरु आज प्रतिष्ठानको आडमा ठूला आपुर्तिकर्ता बनि प्रतिष्ठानलाई लुटिरहेका छन, नियम र कानुनको खुलेआम उल्लंघन गर्ने र ती उलंघनकारीहरुलाई सहयोग गरी रकम कुम्ल्याउने मतियारहरुलाई चौरस्तामा सार्वजनिक गर्न अनुरोध गर्दछौं ।’

धरान एक्सन ग्रुपले प्रतिष्ठानमा निर्माण हुन लागेको अंकोलोजी र कार्डियोलोजी भवनको परामर्शदाता नियुक्तिमा केज कन्सल्टेन्सीलाई बढि रकममा ठेक्का दिईएकोे विषयमा नितीगत भ्रष्टाचार नै भएको बताउँदै के कति कारणले ठेक्का दिईएको हो स्पष्ट खुलाउन माग गरेको छ ।

प्रतिष्ठानमा विषेशज्ञ सेवा समेत दिन प्रतिदिन घट्दै गएको भन्दै न्यूरो, कार्डियोलोजी लगायत सुपरस्पेशियालिटी सेवा अविलम्ब सुचारु गर्न माग गरेको छ ।

यसैगरी प्रतिष्ठानमा निर्माणाधिन मातृशिशु भवनको निर्माण कार्य रोकिएको भन्दै तत्काल निर्माण सूचारु गरी दुई वर्षभित्र सञ्चालन गर्न माग गरेको छ ।

प्रतिष्ठानमा उपकूलपतिले खुलेआम ब्यापारीहरुसँग दवदवा देखाउँदै कमिसन माग्ने गरेको कुरालाई तत्काल बन्द गर्न भनेको छ ।

बन्द अवस्थामा रहेको शैक्षिक कार्यक्रम डिएम एमसिएच तत्काल सूचारु गर्न समेत भनिएको छ । भने, प्रतिष्ठानमा कार्यरत चिकित्सकले बाहिर विरामी जाच्न नपाउने ब्यवस्था हुँदा हुँदै केहि चिकित्सकहरु झापा, मोरङ, सप्तरी देखी पूर्वका विभिन्न स्थानका निजी अस्पताल र क्लिनिकमा गएर विरामी जाच्ने गरेकोले त्यस्ता चिकित्सकलाई छानविन गरी अविलम्ब कारवाही गर्न माग गरेको छ ।

प्रतिष्ठानको तलब खाएर बाहिर राजनीति गर्दै हिड्ने कर्मचारी, चिकित्सकलाई समेत कारवाही गर्न माग गरिएको छ भने, प्रतिष्ठानको उपकूलपति हुनका लागि तत्कालिन समयमा स्वास्थ्य मन्त्रालयमा उपकुलपतिले बुझाएको कार्ययोजना के कति पुरा भयो सार्वजनिक गर्न समेत भनिएको छ ।

ग्रुपले नेपाल सरकारले गरिब निमुखा जनताको स्वास्थ्योपचारका लागि आर्थि वर्ष ०७३/०७४ मा उपलब्ध गराएको ३ करोड ९९ लाख ८८ हजार र आ.व. ०७४/०७५ मा उपलब्ध गराएको ३ करोड ८६ लाख विनियोजित बजेट लक्षित वर्गलाई प्राप्त भएको सूचि समेत सार्वजनिक गर्न माग गरिएको छ ।

त्यसैगरी प्रतिष्ठानमा नक्कली सर्टिफिकेटधारी कर्मचारीहरुको बोलावाला भएको र त्यस्ता सर्टिफिकेटधारीलाई छानविन गर्न समेत भनिएको छ । प्रतिष्ठानबाट प्रदान गरिने हरेक प्रकारका रोजगारीमा स्थानीयतालाई प्राथमिकता दिन समेत माग गरिएको छ ।

एक्सन ग्रुपका अध्यक्ष सचित शर्माले एक साताभित्र मागहरु संवोधन नगरिए चरणबद्ध आन्दोलन गरिने बताए । उनले रिले अनसनदेखि स्स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री निवास कार्यालय सम्म घेराउ गरिने चेतावनी दिए ।

प्रतिष्ठानका उपकूलपतिलाई दिईएको ज्ञापन पत्र, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालय, १ नं. प्रदेश मुख्य मन्त्री, सभामुख, सभाषदहरु जयकुमार राई, मिन विश्वकर्मा, मिना सुब्बा, सावित्री श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय र क्षेत्रिय कार्यालय इटहरी र धरान नगरपालिकाका प्रमुखलाई समेत बोधार्थ दिईएको छ ।

यस अघि नै प्रतिष्ठानको कर्मचारी कल्याण समाजले समेत एमआरआई उपकरण खरिद, अंकोलोजी र कार्डियोलोजी सेन्टर निर्माणमा भएका अनियमितता सार्वजनिक गर्न उपकूलपतिलाई ज्ञापनपत्र समेत दिएको थियो ।

प्रतिष्ठानका पदाधिकारी र उपकुलपतिले गरेका भ्रष्टाचारको विषयमा लामो समयदेखि अख्तियारले छानविन गरिरहेकोमा हालसम्म कुनै ठोस कुरा सार्वजनिक नगरेपछि अख्तियारलाई समेत चौतर्फि दवाव भएको छ ।

अख्तियार स्रोतका प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयबाट समेत अनुसन्धान छिटो टुँग्याउन भनेपछि आयोगले टोली बनाएरै प्रतिष्ठानका फायलहरु अनुसन्धान गर्दै आईरहेको छ ।

स्रोतका अनुसार आयोगले केहि दिन भित्रै एमआरआई उपकरण खरिद, अंकोलोजी र कार्डियोजोजी सेन्टरको अनियमिततामा प्रतिष्ठानका पदाधिकारीहरुका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!