अन्नपूर्ण

काठमाडौं, २२ चैत। पछिल्लो समय नेपालमा बलात्कार र बाल यौनहिंसाका घटनाले डरलाग्दो रुप लिँदै गएका छन् । अवस्था दर्दनाक हुदै गइरहेको छ । आफन्त, छिमेकी, साथी र चिनेजानेकाबाट नै धेरै बलात्कारका घटना भइरहेका छन् ।

शिक्षकदेखि जन्म दिने बाबुबाट पनि बालिकाहरु हिंसामा परेका छन् । सुचना प्रविधिको बढ्दो दुरुपयोगसँगै बालबालिकामाथि बलात्कार र यौनजन्य हिंसा बढ्दै गएका हुन् । बालकलेसमेत बालिका बलात्कार गरी हत्या गरेका घटना बाहिर आएका छन् ।

Advertisement

पछिल्लो चार महिनामा देश ७८ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । ६ बालिकाको त बलात्कारपछि हत्या नै गरिएको छ।

प्रत्येक महिना बलात्कारको घटना सार्वजनिक हुने क्रम बढिरहेका छन् । सबैभन्दा धेरै ३१ जना बालिका फागुनमा यौनहिंसाको शिकार भएका छन् । मंसिरमा १०, पुसमा १४ र माघमा २३ जना बालिका बलात्कार र यौनहिंसाको शिकार भएका छन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत केन्द्रीय बाल कल्याण समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो अवधिमा ४ जना बालकसमेत बालयौन दुर्व्यवहारमा परेका छन् । ७४ जना बालिका बलात्कारबाट पीडित भएका छन् । जसमध्ये ६ जना (८प्रतिशत) को सामुहिक बलात्कार भएको छ ।

आफन्त नै दुस्मन

एक बालिका ३ जना म्यादी प्रहरीबाट समेत बलात्कृत भएकी छन् । सबैभन्दा बढी चिनजानका व्यक्ति तथा आफन्तबाट नै बालिका बलाकृत भएकी छन् ।

४१ प्रतिशत अर्थात ३० जना बालिका बलात्कार चिनजान तथा आफन्तबाट नै भएका छन् । त्यसैगरी छिमेकीबाट २७ प्रतिशत (२० जना), आफ्नै बुबा तथा हाडनाताबाट १५ प्रतिशत (११ जना), फेसबुक तथा सामाजिक सञ्जाल मार्फत भएको चिनजानबाट ९ प्रतिशत (७ जना), शिक्षकबाट ४ प्रतिशत (३ जना) र म्यादी प्रहरी र सेनाबाट ४ प्रतिशत (३ जना) बालिका बलात्कार भएका छन् ।

बलात्कारमा संलग्न अभियुक्तमध्ये १७ प्रतिशत (१६ जना) बालकहरु नै भएको देखिन्छ भने बाँकी ८३ प्रतिशत (७६ जना) वयस्कबाट बालबालिका पीडित भएका छन् । ६ जना बालिकाको बलात्कार पछि हत्या गरिएकोमा २ जना बालिकाको हत्यामा भने २ जना बालकहरु नै संलग्न भएको पाइएको छ ।

बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा १० वर्ष वा सोभन्दा मुनीका ३१ प्रतिशत (२३ जना), ११ देखि १५ वर्षका ६२ प्रतिशत (४६ जना) र १६ देखि १८ वर्षका ७ प्रतिशत (५ जना) बालिका रहेका छन् ।

सबैभन्दा सानी सप्तरीकी २ वर्षको बालिका पनि बलात्कृत भएकी छन् । सबैभन्दा धेरै १४ वर्ष उमेरका बालिकाहरु बलात्कारको शिकार भएका छन् ।

बालक पनि जोगिएनन्

बालयौन दुर्व्यवहारमा परेका बालकहरुमध्ये काठमाडौंस्थित एक होटलमा लामो समयदेखि ३ जना सडक बालकलाई खाना र पैसाको प्रलोभन दिएर ६३ वर्षे जर्मन नागरिकबाट यौन दुराचारमा भएको खुलेको छ ।

त्यसैगरी अर्का एकजना बालक महोत्तरीमा गाउँकै युवाबाट पीडित हुँदै आएको खुलेको छ । गाउँलेको मिलेमतोमा घटना ढाकछोप गर्न खोजिएपछि प्रहरीको सक्रियतामा दोषीलाई कानुनी दायरामा ल्याइएको बाल कल्याण समितिले जनाएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को प्रथम चार महिनाको अवधि (साउनदेखि कात्तिक) मा ४५ जना बालबालिका यौन दुर्व्यवहारबाट पीडित भएका थिए । बालबालिकाविरुद्ध हुने गरेको घटनाको संख्या बढ्दै गइरहेको प्रतिवेदनमा उल्लेख छ ।

अन्य हिंसा पनि उस्तै

केन्द्रीय बालकल्याण समितिको प्रतिवेदन अनुसार पछिल्लो चार महिनामा ४ सय ३ जना बालबालिका प्रत्यक्षरुपमा प्रभावित भएका थिए । सबैभन्दा बढी २ सय १४ जना बालिका पीडित भएका छन् भने १ सय ७२ जना बालक र १७ जना शिशु समेत बालअधिकार उल्लंघनका घटनाबाट प्रभावित भएको पाइएको छ ।

बालकल्याण समितिको प्रतिवेदन अनुसार मंसिरयता बालश्रम १४०, मुत्यु ७८, बालविवाह ४०, वेचविखन तथा ओसार पसार ३४, गर्भपतन ११, कुपोषण ९, शारीरिक यातना ६ र अपहरणमा ४ जना परेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!