धनकुटा, २१ चैत । पछिल्लो समय धनकुटाका युवाहरु व्यावसायिक पशुपालनमा आकर्षित भएर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका भरत गुरुङ यसको गतिलो उदाहरण हुन् ।
गुरुङले गाईको दुध बिक्रि गरी मासिक २ लाखसम्म आम्दानी गर्दै आएका छन् । नजिकैको कामधेन दुग्ध सहकारी संस्थाको दुध संकलन केन्द्रमा दैनिक २ सय लिटर दुध बिक्री गर्दै आएका गुरुङले अव दैनिक ५ सय लिटर दुध बिक्रि गर्ने लक्ष रहेको बताए ।
यसअघि उनी बैदेशिक रोगजारीकोे सिलसिलामा ७ बर्ष कतार बसेका थिए । विदेशमा मासिक ५० हजारसम्म कमाई हुन्थ्यो । तर, विदेशको कमाई दिगो नहुने देखेर उनी आफ्नै गाउँमा केहि गर्ने सोचले घर फर्किए ।
विदेशबाट फर्किएर केहि वर्ष तरकारी खेती गरे । धेरै परिश्रम गर्दा पनि रोगका कारण तरकारी खेतीबाट भनेजस्तो आम्दानी नभएपछि उनले ब्यावसायिक गाईपालन रोजे । ०७० सालमा आफ्नै गाउँमा करिव २ करोडको लगानीमा मकालु काउ फार्म खोलेर व्यावसायिक दुध उत्पादन सुरु गरेका गुरुङ अहिले भने सन्तुष्ट छन् ।
उनले फार्म सञ्चालनकालागि जिल्ला पशु सेवा कार्यालयबाट दुई लाख बराबरको गोठ सुधारका लागि अनुदान र उन्नती परियोजनाबाट चिलिङ सेन्टर निर्माण र मेकानिक सामान खरिदका लागि ३५ लाख बराबरको अनुदान पाएका छन् ।
झट्ट हेर्दा उनको फार्म विदेशमा सञ्चालित कुनै गाईफर्म भन्दा कम छैन । गोठमा ईलाम र गोरखाबाट ल्याईएका उन्नत जातका ३० वटा गाई वाधिँएका छन् ।
सुरुमा इलामबाट उन्नत जातको गाई ल्याएर व्यवसाय सुरु गरेका गुरुङसँग होलस्टेन र जर्सी जातका गाई छन् । सबै गाईको पशुबीमा गरिएको छ । ५० लाख खर्चिएर ३२ वटा गाई अट्ने आधुनिक फार्म बनाईएको छ ।
गाईलाई खुवाउन करिव १ सय ५० रोपनी क्षेत्रमा उन्नत जातको घाँस लगाईएको छ । ५० रोपनी जग्गा पुख्यौली हो भने १ सय रोपनी जग्गा पछि खरिद गरेका हुन् । उनले अम्लिसो, नेपियर सियो थ्री र सीयो फोर तथा डाले घाँस खेती गरेका छन् ।
गाईलाई खुवाउँने घाँस काट्ने विद्युतीय मेसिन छ । करिव १० लाखको लागतमा १ हजार दुध अट्ने क्षमताको भ्याट मेसिन घरमै राखिएको छ । दुध र गाईवस्तुलाई खुवाइने आहार ओसारपसार गर्न दुई ओटा ट्याक्टर किनेका छन् ।
अहिले गाईफार्ममा ३ करोड भन्दा बढि लगानी भईसकेको उनले बताए । ‘लगानी धेरै भईसकेको छ ।’ गुरुङले भने ‘लगानी अनुसार कमाई पनि राम्रै छ, यसमै खुःशी छु ।’ व्यवसायमा निरन्तर मेहनत गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिने उनको बुझाई छ ।
विदेशबाट फर्केका युवाहरुलाई आफुले जानेको सिप स्वदेशमै सदुपयोग गरि उद्यम गर्न उनी सुझाव दिन्छन् । ‘विदेश भनेको क्षणिक समय, बल, उमेर रहुन्जेल मात्र हो । उमेर ढल्कदै गएपछि मालिकले काम दिँदैन ।’ उनी भन्छन् ‘त्यसैले स्वदेशमै उद्यम गर्न सकियो भने वुढेसकालसम्म दिगो हुन्छ ।’