नागरिक दैनिक

काठमाडौं, २० चैत । गृहमन्त्री रामबहादुर थापाले धर्म प्रचारसम्बन्धी गतिविधि र विखण्डनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले राष्ट्रिय एकता संरक्षण गर्दै जाति, धर्म र क्षेत्रका नाममा नेपालमा द्वन्द्व निम्त्याउने तत्वहरुलाई परास्त गर्नुपर्ने बताए। ‘स्वतन्त्र मधेसका नाममा सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको छ,’ गृहमन्त्री थापाले भने। उनले मुलुकको राष्ट्रिय एकता मजबुत बनाउन नयाँ रणनीति तय गर्नुपर्ने बताए।

Advertisement

गृहमन्त्री निकट स्रोतका अनुसार उनले मन्त्रालयको जिम्मेवारी सम्हालेयता धर्म प्रचारका नाममा भइरहेका गतिविधि र मुलुकका विभिन्न भूभागमा भइरहेका विखण्डनकारी गतिविधि नजिकबाट हेरिरहेका छन्।  ‘नेपालको राष्ट्रिय एकतामा धर्म प्रचारका नाममा भइरहेका गतिविधि तथा तराईमा सिके राउत प्रवृत्ति बाधक बनिरहेको मन्त्रीज्यूको बुझाइ छ। यी दुवै प्रवृत्तिप्रति उहाँ कठोर ढंगले प्रस्तुत हुने मनिस्थितिमा हुनुहुन्छ’ उनी निकट स्रोतले भन्यो।

सोमबार मन्त्रालयमा सार्वजनिक गरिएको गृह प्रशासन सुधार कार्ययोजनामा समेत विखण्डनकारी गतिविधि नियन्त्रणसम्बन्धी कानुनलगायतका गृह प्रशासनसँग सम्बन्धित अन्य कानुन संशोधन गर्ने उल्लेख छ। त्यस्तै केही दिनअघि बुझाइएको गृह अध्यागमन सुधार प्रतिवेदनमा समेत विदेशबाट नेपालमा आउनेप्रति निगरानी राख्ने प्रणालीको विकास गर्नुपर्ने सुझाव दिइएको छ। मन्त्रालय स्रोतका अनुसार नेपालमा आएर गैरकानुनी रुपमा धर्म प्रचार गर्नेहरुलाई निगरानी गर्न सकियोस् र नेपालमा कुनै पनि मुलुकका नागरिक आएर गैरकानुनी गतिविधि नगरून् भनेर यस्तो गर्न लागिएको हो।

नेपालमा कुन देशका नागरिक आएर यहाँ के गरिरहेका छन् भन्ने जानकारी सुरक्षा निकायलाई हुँदैन। जसले गर्दा विभिन्न बहानामा आउने विदेशीले नेपालमा धर्म प्रचारलगायतका अन्य गैरकानुनी तथा आपराधिक गतिविधि गरिरहेको गृह मन्त्रालय स्रोत बताउँछ। प्रविधिमार्फत यस्ता गतिविधि नियन्त्रण तथा व्यवस्थापनका लागि सुधार गर्न लागिएको छ।

कार्यक्रममा गृहमन्त्री थापा तस्करप्रति पनि  आक्रामक देखिए । उनले तस्कर र भ्रष्टाचारीलाई ध्वस्त बनाउनुपर्ने बताए। ‘हरेक क्षेत्रमा तस्करी छ। मानव तस्करीदेखि लागूऔषध, भन्सारदेखि विमानस्थलको अध्यागमन सबै क्षेत्रमा अर्बौंको तस्करी छ,’ थापाले भने।  नेपालको अध्यागमनबाट विख्यात अपराधी चाल्र्स सोभराजले हात्ती छिराइदिन्छु भनेको स्मरण गर्दै गृहमन्त्री थापाले नेपालको अध्यागमन निकै भयावह रहेको संकेत गरे। तस्करहरुको संरक्षणमा नेता, प्रशासन र अदालतसमेत लागिपरेको भन्दै उनले हरेक क्षेत्रमा सुधारको खाँचो औंल्याए। थापाले कुनै पनि क्षेत्रमा सिन्डिकेट प्रणाली अब नचल्ने प्रतिबद्धता जनाए।

कार्ययोजनामा राष्ट्रिय एकता, अपराध नियन्त्रण र प्रभावकारी सेवालाई जोड दिइएको छ। सीमा क्षेत्रको निरीक्षणका लागि ड्रोन उडानसम्बन्धी कार्यविधि परिमार्जन ग र्ने योजना बनाइएको छ। ‘प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्रहरी एकाइ रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिनेछ’, सुधार योजनामा भनिएको छ। सार्वजनिक यातायात क्षेत्रमा रहेको सिन्डिकेट नियन्त्रण गर्न समन्वयात्मक रूपमा विशेष कार्ययोजना ल्याउने तयारीमा मन्त्रालय रहेको छ।

राष्ट्रिय परिचयपत्रको योजनालाई समेत कार्ययोजनामा समेटिएको छ। पाँचथर जिल्लाका एक लाख १० हजार नागरिक र सिंहदरबारभित्र कार्यरत सात हजार कर्मचारीलाई पाइलट प्रोजेक्टका रुपमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने र पाँच वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने तयारीमा सरकार छ।

यस्तै राजमार्गको प्रत्येक एक सय किलोमिटरमा सवारी फिटनेस सेन्टर स्थापना गर्ने सुधार कार्ययोजनामा उल्लेख छ। त्यस्तै संगठित अपराध निगरानी र नियन्त्रणका लागि केन्द्र सरकारको नियन्त्रणमा रहने गरी विशेष सुरक्षा दल गठन गर्ने उल्लेख गरिएको छ।

नेपाल प्रहरीको क्विक रिस्पोन्स टिम (क्युआरटी) लाई चुस्तदुरुस्त बनाउने र राजमार्ग तथा सहरी क्षेत्रमा घटना भएको १० मिनेटभित्र प्रहरी घटनास्थल पुग्ने व्यवस्था कार्यान्वयन गर्ने उल्लेख छ।  कार्ययोजनामा काठमाडौं उपत्यका र अन्य सहरी क्षेत्रमा ट्राफिक व्यवस्था सुधार गर्न इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम जडानलाई तीव्रता दिने, सुरक्षाबाहेकका अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता गर्ने, २५ हजारभन्दा बढीको कार्यालय खर्चलाई वेब पेजमार्फत सार्वजनिक गर्नेलगायतका विषय समावेश छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!