‘प्लाष्टिक,’ जो प्राणी जगतको निम्ति अभिशाप बन्न सक्छ । प्लाष्टिक कुहिँदैन, सड्दैन, गल्दैन । अर्थात् यो नष्ट हुँदैन । त्यही कारण प्रयोग भइसकेको प्लाष्टिकले पर्यावरणमा प्रदूषण ल्याउँछ । हामी सबैलाई यो सामान्य चेतना छ कि, प्लाष्टिक हानिकारक नै हो ।

Advertisement

सम्भवत यही कारण ‘प्लाष्टिक निषेध’ गर्ने अभियान बेलाबखत चलाउने गरिन्छ । नेपालकै कतिपय जिल्लालाई ‘प्लाष्टिकरहित’ घोषणा गरिएको छ । त्यहाँ सामान्य किनमेलका लागि पोलिथिन ब्याग प्रयोग गर्न निषेध छ । दण्डनीय छ ।

तर, उदेकलाग्दो चाहिँ के भने, प्लाष्टिकरहित वा प्लाष्टिकमुक्त ठाउँको परिकल्पना गर्नु हाम्रो निम्ति सम्भव छैन । चाउचाउ, चकलेट, बिस्कुट, तेल, नुन लगायत सबै दैनिक उपभोग्य वस्तु एवं सामग्री प्लाष्टिकमै लपेटिएर हाम्रो घरसम्म आइपुग्छन् ।

तपाई/हाम्रै घरमा नियालौं  न, डस्टबिनदेखि भाँडावर्तनसम्म प्लाष्टिकको छ । दाल, चामल राख्ने भाँडा पनि प्लाष्टिककै । पानी भण्डारण गर्ने ट्यांकी पनि प्लाष्टिककै ।  खेलौना पनि प्लाष्टिककै । प्लाष्टिकलाई पूर्ण रूपमा हटाएर जैविक सामग्रीको प्रयोग गर्नु हाम्रा लागि एकदमै ठूलो चुनौती हुनेछ । यसो भन्दैमा प्लाष्टिक निषेध गर्न सकिँदैन भन्ने होइन । प्लाष्टिकको प्रयोगलाई नियन्त्रण गरेर यसबाट हुने सम्भावित क्षतिलाई भने न्यूनीकरण गर्न सकिन्छ ।

जताततै प्लाष्टिक

उर्बर भूमिमा प्लाष्टिकै-प्लाष्टिकको थुप्रो लाग्दै छ । यसले जमिनको उर्बरा शक्तिमा ह्रास ल्याउँछ नै, वातावरणीय प्रदूषण पनि निम्त्याउँछ । डटस्बिनदेखि सगरमाथाको क्याम्पसम्म प्लाष्टिकको थुप्रो लाग्दै छ ।

प्लाष्टिक एक डरलाग्दो समस्याको रूपमा टाँसिएर आउँदै छ । यसले प्राणी जगतमाथि चोर औंला ठड्याइसकेको छ । जब कि हाम्रोजस्तो विकासोन्मुख मुलुकका लागि प्लाष्टिकको प्रयोगलाई पूर्णतः निषेध गर्ने ताकत छैन । सस्तो र छरितो सामग्री प्रयोगका लागि प्लाष्टिक नै उपयुक्त विकल्प बनेको छ । प्लाष्टिकको विकल्पबारे हाम्रो सोंच र प्रविधि विकास भइसकेको छैन ।

बेलाबखत एनजीओ/आइएनजीओले प्लाष्टिक हटाउने अभियान ल्याए पनि त्यसले दीर्घकालिन समाधान भने खोजेको छैन । त्यो फगत निश्चित बजेट र समयसीमासम्म गरिने नाटकजस्तो मात्र भएको छ ।

विश्व समुदायले के गर्दै छ ?

धेरै टाढा जानुपरेन, उत्तरी छिमेकी चीनले यसै वर्षको जनवरीदेखि कुनै पनि किसिमका प्लाष्टिक आयातमाथि बन्देज लगाएको छ ।

पछिल्लो महिना क्यानडाको हेलिफ्याक्स शहरमा प्लाष्टिकको कचौराको कारण इमर्जेन्सी लगाउनु परेको थियो । त्यसपछि शहरमा जम्मा भएको करिब तीन सय टन प्लाष्टिक जमिनमा गाडिएको थियो ।

प्लाष्टिकको बोतल हटाउन लाग्नेछ सयौं वर्ष

विश्वभरका विज्ञहरू भन्छन्, जुन गतिमा प्लाष्टिकको प्रयोग बढिरहेको छ । त्यस हिसाबले हेर्दा सन् २०२० सम्ममा विश्वमा १२ अर्ब टन प्लाष्टिक बोतल जम्मा हुनेछ । यसलाई हटाउन अर्को सयौं वर्ष लाग्नेछ ।

आखिर हामी कसरी यो अवस्थामा पुग्यौँ ? प्लाष्टिकसँग हामी कसरी जोडियौँ ?

प्लाष्टिक युगको सुरुवात

सुजन फ्यांकलिनले प्लाष्टिकको इतिहासबारे एक पुस्तक लेखेका छन् । उनी भन्छन्, प्लाष्टिक प्रयोगमा आउनुअघि विश्वमा कपास थियो । ऊन थियो । सिसा थियो । जुट र रबर थियो । त्यसका साथै जनवारको छाला र सिंगको मद्दत लिइन्थ्यो ।

पछि प्लाष्टिक प्रचलनमा आयो ।

दोस्रो विश्वयुद्धपछि प्लाष्टिक अचानक गायब भयो । तर, त्यसबेलासम्म प्लाष्टिकले विश्वलाई कब्जा गरिसकेको थियो । केही समयपछि ने फेरि यसको प्रचलन बढ्दै गयो ।

खतराको घण्टी

नब्बेको दशकमा समुन्द्रमा पनि प्लाष्टिक तैरिएको देखिए । त्यसपछि प्लाष्टिक कसरी बढ्दै गइरहेको छ भनेर विश्वको ध्यान खिचियो ।

अमेरिका र युरोप मात्र होइन, दक्षिण पूर्वी एसियामा अहिले प्लाष्टिकको बोतल ठूलो समस्या बनिरहेको छ । प्लाष्टिकको झोला र अन्य प्लाष्टिकजन्य सामाग्रीले पर्यावरणलाई दूषित बनाउँदै लगेको छ ।

प्लाष्टिकः हानिकारक

हामीले खाने भाँडा, पानी राख्ने बोतल आदि धेरैजसो प्लाष्टिकका छन् । बजारमा पाइने प्रशोधित खाना त अझ प्लाष्टिकमै प्याक भएको हुन्छ । जब कि प्लाष्टिकमा खानेकुरा राख्नु र खानु निकै हानिकारक हुन्छ ।

प्लाष्टिकमा खानेकुरा राख्दा त्यसमा रासायनिक प्रतिक्रिया भएर विषाक्त हुनपुग्छ । हामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुहरूको उत्पादनमा ईष्टर-थ्यालेट, बिसो फिनोल ए, फिनोल एस, जिनोईस्ट्रोजेनहरू, सिसा र एन्टिमनीजस्ता तत्वहरू हालिएको हुन्छ । यी तत्वहरूको प्रयोग प्लाष्टिकजन्य वस्तुहरूलाई मुलायम, टिकाउ, दरिलो उपयोगी एवं आकर्षक  बनाउन प्रायोग गरिन्छ । तर, यही तत्वले हाम्रो शरीरमा विभिन्न रोग पैदा गर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!