काठमाडौं, १३ चैत। शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सत्रु गते’लाई लिएर दर्शक मात्र होइनन्, राजनीतिज्ञहरु पनि उत्साहित देखिएका छन् । प्रदर्शनको चौथो दिन यो चलचित्र हेर्न पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल हल पुगे ।
काठमाण्डौको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीसहित नेताहरु भिम रावल, देवेन्द्र पौडेल, ठाकुर गैरे, जीवनराम श्रेष्ठ पुगेका थिए । खनालले चलचित्र हेर्ने इच्छा व्यक्त गरेपछि उनको सचिवालयले यसको व्यवस्था मिलाएको थियो ।
नेताहरु हल पुगेको थाहा पाएपछि यसका कलाकार पनि सिटी म्याक्स पुगेका थिए । अधिकांश राजनीतिज्ञ चलचित्र हेर्न हल पुगेका थिए । सोमबार नै नायक भूवन केसी, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, हाँस्य कलाकार केदार घिमिरेले पनि यो चलचित्र हेरेका छन् ।
चलचित्र हेरिसकेपछि नेता खनालले निकै रमाइलो चलचित्र बनेको बताए । उनले, चलचित्रको चर्चा सुनेर आफू हलमा आएको र पुरा समय चलचित्र हेरेको बताए । उनले मह जोडीको कामको प्रशंसा गरेका छन् । नेता भिम रावलले पनि चलचित्रको तारिफ गरे । प्रदिप भट्टराइको निर्देशनमा बनेको यो चलचित्रले ३ दिनमै ३ करोड माथिको ग्रस कलेक्शन गरिसकेको छ ।