विराटनगर, १२ चैत ।  मोरङको बेलबारी नगरपालिका–६ मा सञ्चालित ‘खोर्सानी होम’ आज सम्पन्न भएको छ ।

विगतका वर्ष झैँ यस वर्ष पनि मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जीतपुरस्थित याशोक्यानी भगवती मन्दिर परिसरमा सञ्चालित चर्चित खोर्सानी होममा १०० किलोभन्दा बढीको खोर्सानीको आहुति दिइने गरिन्छ ।

Advertisement

साधक गोपाल कोइरालाले विगत १३ वर्षदेखि खोर्सानीबाट हवन गर्दै आउनुभएको हो । चैते दशैँ अवधिभरि विभिन्न धार्मिक अनुष्ठानको आयोजना गरी समापनका दिन उहाँले खोर्सानीको हवन गर्ने गरिन्छ ।

दनदनी बलेको कुण्डमा सयौँ किलो खोर्सानीबाट हवन गर्दासमेत खार नआउने विशेषता भएका कारण नेपालसहित भारतका विभिन्न क्षेत्रका श्रद्धालु हवनबाट धार्मिक लाभ लिन मोरङको सोमबारे आउने गर्छन् ।

यसपटक होममा १०० किलोभन्दा बढी खोर्सानीबाट हवन गरिएको छ । सयौँ किलो खोर्सानीबाट हवन गरिरहँदा हवनकुण्डको आसपास उभिएर प्रत्यक्ष हवन हेरिरहेको कसैलाई पनि खोर्सानी डढाउँदा उत्पन्न हुने खारको अनुभूति भएन ।

यस वर्ष १३ औँ पटकको हवन कमला साधना महायज्ञका रुपमा आयोजना गरिएको हो । मुलुकमा शान्ति र समृद्धिको कामनासहित महायज्ञ र हवनको आयोजना गरिएको साधक गोपालप्रसाद कोइरालाले बताए ।

खोर्सानी डढाउँदासमेत खार नआउने र मन्दिरमा गरेको भाकल पूरा हुने विश्वास बढेपछि वार्षिकरुपमा आयोजना हुने सो अनुष्ठान हेर्न भारतबाट उल्लेख्य संख्यामा धार्मिक पर्यटन यहाँ आउने गर्छन् ।

यसपटकको हवन अवलोकन गर्न विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख इन्दिरा कार्की, नेपाली काँग्रेसका नेता भक्तिनाथ माझी, सुरक्षा निकायका प्रमुखसहित भारत र काठमाडौँबाट सयौँ श्रद्धालुको उपस्थिति रहेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!