ताप्लेजुङ, ९ चैत । फुङ्लिङ नगरपालिका–२ स्थित होटल इको भ्यु प्वाइन्टमा आज बिहान भएको आगलागीबाट ५० लाख मूल्य बराबरको क्षति भएको छ ।
आगलागीका कारण भवनको छतमा रहेको भोजनालय पूर्णरुपमा जलेर नष्ट भएको अनुमान रहेको प्रहरीले जनाएको छ । भोजनालयमा रहेका खाद्यान्न र पेय पदार्थ, भान्छाका सामग्री फर्निचरलगायत वस्तु जलेर नष्ट भएका थिए । पक्की भवनको तल्लो तलामा बास र भने छतमा भोजनालय सञ्चालन हुँदै आएको थियो ।
भोजनालयमा बिहान विद्युत चुहेर आगो सल्किएको होटल सञ्चालकले बताएका छन् । आगलागी झण्डै एक घण्टामा स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले नियन्त्रणमा ल्याएका थिए ।