धनकुटा, ८ चैत । धनकुटा–९ वेलहाराका आगलागी पीडितलाई सामुदायिक वन उपभोक्ता नगर महासंघले आर्थिक सहयोग गरेको छ । धनकुटामा आज राहत वितरण कार्यक्रम आयोजना गरि आगलागी पीडित ६ परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
आगलागीका कारण घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएका मानबहादुर राई, गोपाल भण्डारी, धुव्र भण्डारी र मुखजित राईलाई ५/५ हजारका दरले रकम प्रदान गरिएको छ । यता घरमात्र जलेर नष्ट भएका मनमाया राई र कुलवहादुर तामाङ्गलाई ३/३ हजारका दरले आर्थिक सहयोग गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासघंका केन्द्रिय सदस्य शिव आङ्गला, जिल्ला अध्यक्ष राजेन्द्र खड्का, नगर अध्यक्ष जयादेवी पोख्रेल, महासचिव अर्जुन छारा लगायतले रकम हस्तान्तरण गरेका थिए ।
यस्तै धनकुटा–७ मदनचौकका पुष्कर जोशीले पनि सोहि अवसरमा आगलागी पिडितलाई खाद्यान्न सामाग्री प्रदान गरेका छन् । उनले प्रति परिवार ३ हजार १० रुपैया बरावरको चामल, नुन, तेल, दाल लगायत प्रदान गरेका हुन् ।

पीडितहरुलाई दुःखको वेला केही भएपनि राहत दिलाउँनका लागि सहयोग गरिएको सामुदायिक वन उपभोक्ता नगर महासंघका अध्यक्ष जयादेवी पोख्रेल र सहयोगदाता पुस्कर जोशीले बताएका छन् ।
स्थानीय जलकन्या सामुदायिक बनमा गत फागुन २२ देखि २६ गतेसम्म भएको आगलागी बस्तीमा पस्दा घरसहित चौपायासमेत जलेका थिए ।