- सन्तोष रुचाल/संगालोखबर

धनकुटा, ७ चैत । धनकुटाको पाख्रीवासमा पूर्वी नेपालकै पहिलो कृषि क्याम्पस संचालन हुने भएको छ । यहि शुक्रवारदेखि पठनपाठन हुने पाख्रीवास कृषि क्याम्पसमा अध्ययनका लागि ५२ जना विद्यार्थी भर्नासमेत भईसकेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय रामपुर चितवन अन्तरगत प्राकृतिक श्रोत व्यवस्थापन कलेज पाख्रीवास (आंगिक) कृषि संकायमा पढाई हुनेछ । चैत ९ गतेदेखि पाख्रीवास कृषि क्याम्पसमा डिप्लोमा तहको विएस्सी एजी विषय पढाई हुदैछ । उक्त तहमा धनकुटाका लागि दुई वटा कोटा छुट्याएको भएपनि एक जना मात्र उत्र्तीण भएका थिए । कृषि तथा वन विज्ञान विश्वविद्यालय डिनको कार्यालय रामपुर चितवनले लिएको प्रवेश परिक्षा उत्र्तीण गरी ५२ जना विद्यार्थीले अध्ययन गर्ने पाख्रीवास कृषि क्याम्पसका प्रमुख सुर्यमणी ढुंगानाले बताए ।

Advertisement

पूर्वाञ्चलमा नै पहिलो पटक पाख्रीवासमा शुरु हुन लागेको कृषि क्याम्पसको आफ्नै भवन नभएका कारण तत्काललाई जालपादेवी क्याम्पसको भवनमा पठनपाठन हुनेछ । क्याम्पसको पाख्रीवास नगरपालिका–३ मा ८८ रोपनी जग्गा छ । हाललाई जालपादेवी क्याम्पसको भवनमा पठन पाठन गरिएपनि क्याम्पसको आफ्नै भवन निर्माण भएपछि सारिने क्याम्पस प्रमुख ढुंगानाले जानकारी दिए । प्रयोगात्मक परिक्षणसहितको मल्टिसिस्टमको क्याम्पसको आफ्नै भवन निर्माण कार्य शुरु भइसकेको छ ।

कृषि क्याम्पस सञ्चालन हुन लागेको भवन । तस्वीर: सन्तोष रुचाल/संगालोखबर

क्याम्पस भवन निर्माणको लागि स्थानीयबासीले केही जग्गा निःशुल्क उपलब्ध गराएका थिए भने केही क्याम्पसले खरिद गरेको छ । पाख्रीवास कृषि क्याम्पसमा हाल विएस्सी तहको एग्रीकल्चर मात्र पढाई हुने भएपनि पछि भेटनरी र फरेस्ट्री विषय पनि पढाई हुनेछ । क्याम्पसको हाल आफ्नै पूर्वाधार नभएपछि पाख्रीवास नगरपालिकाले सहयोग गर्ने भएको छ ।

हाललाई क्याम्पस संचालनको लागि पाख्रीवास नगरपालिकाले वार्षिक ३० लाख र भवन उपलब्ध गराएको पाख्रीवास नगरपालिकाका प्रमुख विर्खबहादुर राईले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार नगरपालिकाको अगुवाईमा जालपादेवी क्याम्पसको भवन अस्थायी रुपमा कृषि क्याम्पसलाई उपलब्ध गराईएको हो ।

प्राकृतिक हिसाबले कृषि क्षेत्रमा संम्भाव्यता बोकेको पाख्रीवास नगरपालिका क्षेत्रमा कृषि क्याम्पस स्थापना गरिनुले सो क्षेत्रको विकासमा टेवा पुग्ने स्थानीयबासीको भनाई छ । यसका साथै पाख्रीवासमा कृषि अनुसन्धान केन्द्र पनि रहेकाले कृषिसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन हुने जिसस धनकुटाका सदस्य डागमकुमार राईले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!