- ईश्वर थापा/संगालोखबर

धनकुटा, ६ चैत । बिहीबारदेखि सुरु हुने एसईई परीक्षामा पूर्वी नेपालबाट एक लाख भन्दा बढी विद्यार्थी सहभागि हुने भएका छन् । सप्तरी र सिरहासहित प्रदेश नम्बर १ का १४ जिल्लाबाट १ लाख ३ हजार ३ सय ४० विद्यार्थी परीक्षामा सामेल हुने पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ । प्रदेश नम्बर १ बाट मात्र ८३ हजार ८ सय ६६ विद्यार्थी परीक्षामा सहभागि हुदैछन् ।

मुलुक संंघीय संरचनामा गएपनि एसईई परीक्षा भने क्षेत्रीय र अञ्चल कै ढाचामा हुदैछ । पूर्वाञ्चलबाट नियमित तर्फ ९६ हजार ५ सय ७८ र एक्जामटेड तर्फ ६ हजार ७ सय ६२ जना विद्यार्थी एसईईमा सहभागी हुने क्षेत्रीय शिक्षा निर्देशनालयका मूल्यांकन तथा परिक्षा शाखा अधिकृत दीपक श्रेष्ठले संंगालोखबरलाई जानकारी दिए । पहिले एसएलसी परीक्षा सञ्चालन हुँदा एक्जाम्टेड विद्यार्थी बढी हुन्थे ।

तर, शिक्षा ऐनको आठौं संसोधनपछि एसएलसीलाई एसईई बनाएर गे्रडिङ प्रणालीमा लगिएपछि एक्जाम्टेड विद्यार्थीको संख्या घटेको परिक्षा शाखा अधिकृत श्रेष्ठले बताए । उनका अनुसार एसईई परीक्षाको तयारी पनि पुरा भएको छ । पूर्वाञ्चलमा यो वर्ष सबैभन्दा धेरै विद्यार्थी मोरङबाट सहभागी हुँदैछन् भने सोलुखुम्बुबाट कम सहभागी हुनेछन । मोरङमा १७ हजार ७ सय ८९ र सोलुखुम्बुमा १ हजार ८ सय ७४ परीक्षार्थी सामेल हुनेछन् ।

यसैगरी झापामा १६ हजार ६१, सुनसरीमा १२ हजार ५ सय ९७, सिरहामा ९ हजार ८ सय ७८, सप्तरीमा ९ हजार ५ सय ९७, र उदयपुरमा ५ हजार ५ सय ६२ परीक्षार्थी सामेल हुँदैछन । यसैगरी इलाममा ५ हजार १ सय २०, पाँचथरमा ४ हजार ३ सय १५, खोटाङमा ४ हजार २ सय ७८, भोजपुरमा ३ हजार २ सय ४६, ओखलढुंगामा ३ हजार ५६, धनकुटामा ३ हजार ११, संखुवासभामा २ हजार ५ सय ८४, ताप्लेजुङमा २ हजार ३ सय ९९ र तेह्रथुममा १ हजार ९ सय ७३ परीक्षार्थी सामेल हुने क्षेशिनिले जनाएको छ ।

यसपटक पूर्वमा चार सय ४६ परिक्षा केन्द्र तोकिएको छ । मोरङमा ६९, झापामा ५४, सुनसरीमा ४६, सिरहामा ३८, सप्तरीमा ३६ र उदयपुरमा २५ वटा परीक्षा केन्द्र तोकिएका छन् । यस्तै इलाममा २३, पाँचथरमा २०, खोटाङमा २४, भोजपुरमा १६, ओखलढुंगामा १७, धनकुटामा १८, संखुवासभामा १५, ताप्लेजुङमा १७, तेह्रथुममा १५ र सोलुखुम्बुमा १४ परीक्षा केन्द्र तोकिएको छ ।

दुई हजार विद्यार्थी परीक्षाबाट बञ्चित

यसैबीच यस वर्षको एसईई परीक्षामा पूर्वाञ्चल विकास क्षेत्रका करिब दुई हजार विद्यार्थी एसईई परीक्षा दिनबाट बञ्चित हुने भएका छन् । यस शैक्षिक सत्रमा नियमीत हाजिरी ७५ प्रतिशत नपुगेका र समयमा परीक्षा फारम भर्न छुटेका विद्यार्थीहरु परीक्षाबाट बञ्चित भएको क्षेशिनिले जनाएको छ । हरेक बर्ष हजारौं विद्यार्थीहरु परीक्षाबाट बञ्चित हुँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!