राजधानी दैनिक

काठमाडौं, ४ चैत। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्रलाई भने फकाउने रणनीति अवलम्बन गरेको छ । विभिन्न संवैधानिक पदमा एमालेका तर्फबाट बनेका उम्मेदवारलाई निर्विरोध बन्न रोक्दै आएको कांग्रेसले माओवादीका उम्मेदवारलाई भने समर्थन गर्दै आएको छ ।

गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन तथा राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त उम्मेदवार दिएर पार्टी एकता प्रक्रिया अघि बढाएका एमाले र माओवादी केन्द्रलाई कांग्रेसले फरक दृष्टि र व्यवहार गरेको छ । दुई दलबीच पार्टी एकता असफल भएको अवस्थामा माओवादीलाई साथ लिएर एमालेलाई एक्ल्याउने रणनीतिका साथ कांग्रेसले माओवादीसँगको सम्बन्धलाई बिगार्न नचाहेको कांग्रेसकै नेताहरू स्वीकार गर्छन् ।

Advertisement

विभिन्न संवैधानिक पदमा एमालेतर्फका उम्मेदवारलाई कांग्रेसले निर्विरोध हुन दिएको छैन । तर, गठबन्धनकै माओवादीतर्फका उम्मेदवारलाई भने कांग्रेसले निर्विरोध बन्ने अवसर साथै समर्थनसमेत गर्दै आएको छ ।

गत २६ फागुनमा सम्पन्न सभामुखको निर्वाचनमा माओवादीका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर महरालाई कांग्रेसले समर्थन गरेको थियो । तर, एमालेको भागमा परेको उपसभामुखको निर्वाचनमा कांग्रेसले शिवमाया तुम्बाहाङ्फेलाई उम्मेदवार बनाएकोमा कांग्रेसले पार्टीका तर्फबाट पुष्पा भुसाललाई अघि सारेर उपसभामुख निर्विरोध बन्न दिएन ।

महरालाई समर्थन गर्दै कांग्रेस नेता मीनेन्द्र रिजालले संसद् साझा थलो भएकाले सर्वसम्मत बनाउन समर्थन गर्ने जनाएका थिए । तर, कांग्रेसले एमालेको भागमा परेको उपसभामुखमा भने उम्मेदवारी दिएर निर्वाचन गर्न बाध्य बनायो । वाम गठबन्धनका कारण उपसभामुखमा पनि तुम्बाहाङ्फे विजयी बनिन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि कांग्रेसले एमालेको भागमा परेको उम्मेदवारमा उम्मेदवार उठायो भने माओवादीको भागमा परेको उम्मेदवारीमा निर्विरोध बनाइदिएको छ । एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँटमा राष्ट्रपति पद आफ्नो भागमा परेपछि एमालेले विद्यादेवीभण्डारीलाई नै राष्ट्रपतिमा दोहोर्याउने निर्णय गर्यो ।

कांग्रेसले भने राष्ट्रपतिमा कुमारीलक्ष्मी राईलाई उम्मेदवार बनायो । एमालेको भागमा परेको राष्ट्रपतिका विरुद्ध उम्मेदवारी दिएको कांग्रेसले माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पदमा भने उम्मेदवारी नै दिएन । शनिबार उपराष्ट्रपति पदका लागि मनोनयनको कार्यतालिका रहेकोमा कांग्रेसले उम्मेदवारी नदिएर निर्विरोध बनाइदिएको छ । माओवादी केन्द्रका तर्फबाट नन्दकिशोर पुन आज (आइतबार) निर्विरोध पुनः उपराष्ट्रपति चुनिँदै छन् ।

वाम गठबन्धनसँग स्पष्ट बहुमत रहेका कारण कांग्रेस उम्मेदवार पराजित हुने निश्चित हुँदाहुँदै पनि एमाले माओवादी केन्द्र गठबन्धन असफल बनाउन निर्वाचनमा रणनीतिक भूमिका खेलेको वाम गठबन्धनका नेताहरूको दाबी छ ।

कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा भने एमाले र माओवादी केन्द्रलाई हेर्ने दृष्टिकोण फरकफरक भए पनि उम्मेदवारीकै हकमा भने त्यो लागू नहुने बताउँछन् । राष्ट्रपति दलीय स्वार्थभन्दा माथि उठ्न नसकेको तथा दुई दल एउटै हुने प्रक्रियामा रहेकाले उपसभामुख एउटै दलको नहोस् भनेर उम्मेदवारी दिएको उनको भनाइ छ ।

‘नरम भएर हामीले माओवादीका उम्मेदवारविरुद्धमा उम्मेदवारी नदिएको त भन्न मिल्दैन,’ उनले भने, ‘तर एमाले हाम्रो मुख्य प्रतिस्पर्धी दल हो भने ठूलो पार्टी भएर उसले जे भूमिका निभाउनुपर्ने हो, त्यो उल्लंघन गरेको छ ।’

उनले फकाउने र एक्ल्याउने खेलमा लागेको भए माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी परेको राष्ट्रिय सभा उपाध्यक्षमा पनि पार्टीको उम्मेदवारी नपर्ने बताउँछन् ।

कांग्रेसले एमालेले उम्मेदवारी दिएको राष्ट्रिय सभा अध्यक्षमा भने उम्मेदवारी दिएको थिएन । प्रदेश सरकार र केन्द्रीय सरकारसमेत संयुक्त रूपमा बनाएका वाम दुई दलले चैतभित्रै पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!