- संगालोखबर सम्वाददाता

धनकुटा, २७ फागुन । कोशी पहाडका ट्याक्सी ब्यावसायीहरुले पुराना सार्वजनिक सवारी साधन हटाउने सरकारी निर्णय नमान्ने चेतावनी दिएका छन् । सरकारले चैत १ गतेबाट २० बर्ष नाघेका सार्वजनिक सवारी देशभरबाट हटाउने अब्यवहारिक निर्णय गरेको भन्दै सार्वजनिक कोशी पहाडी यातायात ट्याक्सी ब्यावसायी संघ धनकुटाले आईतवार हिलेमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो ।

सरकारले पुराना सवारी साधनलाई विना राहत पत्रु बनाउन खोजेको भन्दै ब्यवसायीहरुले विरोध जनाएका हुन् । सर्वसाधरण मजदुरको परिवार पाल्न भाडामा चलाइने कालो प्लेटका पुराना सवारी बन्द गर्ने र अन्य प्लेटका सवारी नहटाउने गरी गरिएको सरकारी निर्णय गलत रहेको धनकुटा ट्याक्सी व्यवसायी संघका अध्यक्ष अमित लो तामाङले बताए । सरकारको यो निर्णयले नागरिकको व्यक्तिगत सम्पत्तीमा धावा बोलेर गरीबी र बेरोजगारी बढाउने उनको ठम्याई छ ।

Advertisement

धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर र सुनसरीका ट्याक्सी व्यवसायीसमेत सहभागि पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले सरकारी निर्णयको प्रतिवाद गर्ने चेतावनी दिए । एम्बुलेन्ससमेत नपुग्ने ग्रामिण र विकट क्षेत्रमा ल्याण्डरोबर गाडी पुगेर विरामी ओसार्ने गरेको भन्दै ब्यवसायीहरुले पुराना गाडी हटाउदा धेरैले अकालमै ज्यान गुमाउनुपर्ने वाध्यता औल्याए ।

पहाडी क्षेत्रमा जनसेवासंगै जिवन गुजारा चलाईरहेका मजदुरलाई बेवास्था गर्दै उपत्यकालाई मात्र हेरेर हचुवाको भरमा सरकारले गलत निर्णय गरेकाले निर्णय फिर्ता नभए आन्दोलन चर्काउने ब्यावसायीहरुले चेतावनी दिएका हुन । वातावरणलाई मध्यनजर गरी सरकारले बनाउने नीति स्वागत योग्य हुनुको सट्टा कालो प्लेटका सवारीले मात्र कालो धुँवा फाल्छ भन्ने सोचमा नै खोट देखिन्ने ब्यावसायीहरुको ठम्याई छ ।

प्रदुषण नाप्ने यन्त्र ल्याएर गाडी हटाउन सकिने भएपनि सवारी साधनको उमेर तोकेर सरकारले गरीब व्यावसायीलाई अन्याय गर्न खोजेकाले विरोध जनाउँनुपरेको ट्याक्सी व्यवसायी संघ सुनसरीका प्रमुख अमर बुढाथोकीले बताए । चैनपुर ट्याक्सी व्यवसायी संघका अध्यक्ष असिम शाक्यले पनि बैज्ञानीक र विकल्पसहितको नीति बनाएर व्यावसायीको हितमा निर्णय नभए आन्दोलन चर्काउनुको विकल्प नभएको प्रस्ट पार्दै भने ‘वातावरण संरक्षणकालागि सवारी साधनको आयु हैन बैज्ञानीक तरिकाले नाँपजाँच गरेर सवारीको कन्डिसन हेर्नुपर्छ ।’

धरान हुँदै कोशी पहाडी चार जिल्लामा एक सय ९० वटा ट्याक्सी सञ्चालित छन् । प्रदेश नं १ मा २० बर्ष नाघेका सवारी साधनको संख्या दुई हजार एक सय २७ रहेको यातायात व्यवसायी संघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!