काठमाडौं, २७ फागुन। प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्मा विश्वासको मत लिँदै छन्। राष्ट्रपतिबाट फागुन ३ मा प्रधानमन्त्री नियुक्त ओलीलाई राजपा र फोरमले पनि मत दिने तयारी गरेका छन्।

वाम गठबन्धनका प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइ बहुमत पुग्ने अनुमान गरिएको छ। ज्येष्ठ सदस्यको हैसियतमा सभामुख बनेका महन्थ ठाकुरले शनिबार बसेको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरेका हुन्। ठाकुरले आइतबार ३ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरिएको जानकारी संसद्मा गराए।

Advertisement

राष्ट्रपतिबाट नियुक्त भएको एक महिनाभित्र प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। ओली प्रधानमन्त्री बनेको चैत ३ मा एक महिना पुग्दै छ। यस्तै, संसद्को शनिबार बसेको बैठकले सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सर्वसम्मत निर्वाचित गरेको छ। प्रमुख विपक्षी कांग्रेससमेतको समर्थनमा महरा निर्विरोध निर्वाचित भएका हुन्।

सभामुख पदका लागि महराको एक मात्र उम्मेदवारी परेको भन्दै ज्येष्ठ सदस्य ठाकुरले महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे। वाम गठबन्धनका तर्फबाट महरालाई सभामुखका रूपमा अघि सारिएको थियो। त्यसअघि संसद्मा महरालाई सभामुख बनाउन पूर्वसभामुख एवं एमाले नेता सुवास नेम्बाङले राखेको प्रस्तावलाई माओवादी केन्द्रका देव गुरुङ र कांग्रेसका डा. मीनेन्द्र रिजालले समर्थन जनाएका थिए।

पूर्वसभामुख नेम्बाङले संविधान कार्यान्वयनका लागि संसद्ले महत्वपूर्ण कानुन निर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसका लागि महराको भूमिका महत्वपूर्ण हुने बताए। ‘सबै दललाई एकै ठाउँमा ल्याएर अघि बढ्न नयाँ नेतृत्वले सक्नुपर्छ,’ उनले भने, ‘संविधान कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी नयाँ संसद्को काँधमा छ। प्रतिपक्षलाई पनि समेटेर अघि बढ्नुपर्छ।’

माओवादी केन्द्रका नेता गुरुङले सहमतीय पद्धतिअनुसार संसद् सञ्चालन हुनुपर्ने भन्दै राजनीतिक स्थिरता र संविधान कार्यान्वयनका लागि संसद्को भूमिका महत्वपूर्ण रहेको बताए। ‘विगतमा त्रिशंकु संसद्ले अराजकता र अस्थिरता मात्र ल्यायो,’ उनले भने, ‘संसद्मा वाम गठबन्धनका पक्षमा झन्डै दुईतिहाइ छ तर सहमतीय मोडेलबाट अघि बढ्नुपर्छ।’

सत्तापक्षले राखेको प्रस्तावको समर्थन गर्दै कांग्रेस नेता रिजालले महराको कार्यकालमा सहयोग गर्ने विश्वास व्यक्त गरे। सरकारले बलमिच्याइँ र पेल्ने गरेको भन्दै रिजालले सरकारलाई उत्तरदायी बनाउन आफ्नो भूमिकामा कन्जुस्याइँ नगर्न महरालाई सुझाव दिए। ‘महराजीलाई सभामुख बनाउन संविधान निर्माणको नेतृत्व लिएका सुवास नेम्बाङले प्रस्ताव गरेको र संविधान निर्माणलाई बहिष्कार गर्ने देव गुरुङले समर्थन गरेकाले पनि कांग्रेसले समर्थन गरेको हो,’ रिजालले भने।

महरा निर्विरोध निर्वाचित भएको भन्दै ज्येष्ठ सदस्य ठाकुरले प्रतिनिधिसभाका तर्फबाट बधाई र शुभकामना दिए। रोल्पामा जन्मेका महरा प्रतिनिधिसभा निर्वाचनमा दाङ २ बाट निर्वाचित भएका थिए। महराको शपथ आइतबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालयमा तय गरिएको संसद् सचिवालयले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!