धनकुटा, २६ फागुन । धनकुटा महोत्सवमा शुक्रबार साँझ प्रथम नेपाली तारा दीपक लिम्वुको सांगीतिक प्रस्तुतिले दर्शक खचाखच थिए । ‘मुटु माग्यौ तिमीले मैले बाच्नु पर्छ, सिम्पल सिम्पल कान्छिको डिम्पल पर्ने गाला’ जस्ता करिव आधा दर्जन चर्चित गीत गाएका लिम्बुले दर्शकको राम्रो साथ पाए ।
सोहि मौकामा उनले आफ्नो नयाँ एल्वमको गीतसमेत गाउन भ्याए । दर्शकको वाक्लो उपस्थितीले महोत्सव स्थल तल्लो टुडिखेल खचाखच हुँदा आयोजक पनि दङ्ग थिए । सञ्चालिका याङजोन शेर्पाले उद्घोषणको वीचवीचमा ‘आजको उपस्थितीको लागि धन्यवाद, यसरी नै अरुदिन पनि उपस्थित भईदिनुहोला’ भन्दै दर्शकलाई संवोधन गर्नाले यहि कुरालाई प्रमाणित गरिरहेको थियो । दीपक लिम्वुको गीतमा युवा युवतीमात्र नभएर बालबालिका र बृद्धबृद्धा पनि राति अबेरसम्म झुमेका थिए ।
चर्चित कलाकार आउँदा दर्शकको भीड लाग्नु स्वभाविक भएको मेलामा भेटिएका कुमार कार्कीले बताए । उनले भने ‘दर्शकको भीड वढ्ने वेला नै हो, झन चर्चित गायक दीपक लिम्वु आउने भनेपछि दर्शक थपिनु स्वभाविक हो ।’ महोत्सवको भीडमा भेटिएका धनकुटा–२ का ठगेन्द्र लामिछानेले पनि चर्चित कलाकारको सांगीतिक प्रस्तुती हेर्न दर्शकको भीड लाग्नु स्वभाविक भएको प्रतिक्रिया दिए ।
दीपक लिम्वु एक समय सांगीतिक क्षेत्रमा दर्शक÷श्रोता माझ एक छत्र राज गरेको नाम हो । उनी धेरै दर्शक तथा श्रोताले मन पराउने गायक मध्येमा पर्छन् । उनका अधिकांश गीतहरु लोकप्रिय छन् ।
महोत्सवमा विहान र दिउँसो भन्दा वेलुकाको सांगीतिक कार्यक्रममा दर्शकको भीड बढी हुने गरेको महोत्सव प्रचार समिति संयोजक विजय सन्तोषी राईले जानकारी दिए । महोत्सवमा आजसाँझ गायक सविन राई, दीपक वराईली र गायिका अञ्जु गौतमको साथमा सांगीतिक कार्यक्रम हुँने आयोजकले जनाएको छ ।
धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा गत आईतबारबाट सुरु भएको महोत्सव आगामी बुधबारसम्म चल्दैछ । ११ दिनसम्म चल्ने महोत्सवमा दुई लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर तीन करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ ।