कान्तिपुर

तेह्रथुम,२६ फागुन ।  लालीगुराँस नगरपालिका ८ सोल्मा कालीमाटीका ४२ वर्षीय लक्ष्मी अधिकारीको परिवार आगलागी भएको चार दिनसम्म पनि आफ्नो ३ तोला सुनको गहना खरानीमा खोजिरहेको छ । सम्पतीको नाममा भएको जम्मा ३ तोला सुन पनि जलेपछि यो परिवारको बिजोग भएको छ । उनीहरू खरानी भएको घरको आगनमा थुप्रिएको माटोमा गहना खोजिरहेका छन् ।

केही वर्षअघि आगलागीमा परेर सर्वस्व गुमाएका लोकनाथ न्यौपानेको पनि सोही आगोले जीवनभर जोहो गरेको सम्पत्ति क्षणभरमै खरानी बनाइदिएको छ । उनीसँग अहिले एक छाक खाने अन्न र एकसरो लगाउने लुगासमेत छैन ।
‘आगोले मलाई साह्रै दु:ख दियो,’ जलेको घरको तल्लो कुनामा बसेर टोलाइरहेका न्यौपानेले दु:ख पोखे, ‘आगोले पटक–पटक मलाई मात्र किन दु:ख दिन्छ ?’ अघिल्लो पटकको आगलागीमा परेर सम्पूर्ण सम्पत्ति जलेर विस्तारै तङ्ग्रिँदै गरेका न्यौपानेको सम्पत्तिको नाममा अहिले केही पनि छैन ।
‘शरीरमा लगाएको कपडाबाहेक अरू केही पनि वचेन,’ उनले भने । गत मंगलबार भएको आगलागीमा परी अधिकारी र न्यौपानेसहित गोविन्द अधिकारी, नेत्रप्रसाद अधिकारी, एकराज तिम्सिना र गुरुप्रसाद लुइँटेलको सर्वस्व गुमेको छ ।
आफ्नो नाममा २ रोपनी मात्र जग्गा रहेका लक्ष्मी अधिकारीले अर्काको खेत अधियामा रोपेर यो वर्ष ४० मुरी धान थन्क्याएका थिए । त्यो धान पनि सवै आगोमा जल्यो । ‘मैले योपटक फलाएको धान एक दाना पनि खान पाएको थिइनँ, सबै जल्यो,’ अधिकारीले विलौना गरे ।
काठ र घाँसदाउराका लागि सजिलो होला भनेर संरक्षण गरी हुर्काएको केही टाढाको हात्तीआहाल सामुदायिक वनका कारण पटकपटक आगोले आफ्नो बास उठाएको पीडित न्यौपानेले बताए । यसपटक पनि सोही वनबाट सल्किएको आगोले बस्ती नै सखाप वनाएको हो । आगलागीमा परी ६ परिवारको ६० लाख बराबरको त अन्नपात, सुनचाँदी, भाँडावर्तन र लुगाकपडा जलेको पीडितको भनाइ छ । खाने सबै अन्न जलेपछि पीडितले आगलागीपछि पेटभरि खानसमेत नपाएको बताए ।
यसैबीच आगाली पीडितलाई जिल्ला प्रशासन कार्यालयले केही राहत रकम र खाद्य सामग्री वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल आफैं पीडितसम्म पुगेर प्रतिपरिवार २० हजारका दरले नगद र केही खाद्य सामग्रीवितरण गरेका हुन् । पीडितलाईराहत जुटाउने कार्यमा सवै संयन्त्र परिचालन गरेर लागिरहेको प्रजिअखनालले बताए ।
यसैबीच आगलागी भएको बस्तीमा झाडापखाला, ज्वरो, रुघाखोकी, टाउको दुख्ने, छाती पोल्ने लगायतको रोग फैलिएको छ । बस्तीका २६ जना बढी बिरामी परेको वडा सदस्य किरण लुइँटेलले बताए । बस्तीमै रोग फैलिएपछि सोल्मा स्वास्थ्य चौकी र सुङनाम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले पीडित बसेकै स्थानमा पुगेर स्वास्थ्य शिविर चलाएका छन् । १२ जनाभन्दा बढी ज्वरोले थलिएका छन् ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!