विराटनगर, २५ फागुन । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालबाट १० महिनाको अवधिमा करिव आठ सय बिपन्न विरामीको निःशुल्क उपचार गरिएको छ । विपन्न नागरिक औषधि उपचार कोष अन्र्तगत ७ सय ६४ जना न्यून आर्थिक अवस्थाका बिरामीलाई ४ करोड ५४ लाख ७१ हजार वरावरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

सरकारसँगको सम्झौतापछि नोबेलले उक्त कोष मार्फत गत चैत अन्तिमबाट न्यून आर्थिक अवस्थाका विरामीलाई सहुलियतमा उपचार गर्दै आएको छ । छ प्रकारको रोग भएका विरामीको सहुलियतमा उपचार गरेर औषधिसमेत निःशुल्क उपलब्ध गराईदै आएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले बताएका छन् । ‘सुरुमा धेरैलाई थाहा नहुँदा निःशुल्क उपचारकालागि आउँने विरामीको संख्या थोह्रै थियो ।’ उनले भने ‘अहिले महिनामा सय भन्दा बढी विरामीले निःशुल्क उपचार गराउँने गरेका छन् ।’

नोबेल अस्पतालमा उपचाररत विरामीहरु ।

मुटु रोग, टाउकोको चोट, मेरुदण्डको चोट, पार्किन्सन र अल्जाइमरका बिरामीले १ लाखसम्मको उपचारमा सहुलियत पाउँने गरेका छन् । त्यस्तै मृगौलाको डाईलाइसिस पूर्ण रुपमा निःशुल्क गर्ने गरिएको छ । वडा कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस लिएर आएका विरामीलाई सहुलियतमा उपचार गर्ने गरिएको नोबेल अस्पतालको सामाजिक स्वास्थ्य ईकाई संयोजक दिपेश न्यौपानेले जानकारी दिए । उनका अनुसार निःशुल्क उपचार गराउँनेमा मोरङ, सुनसरी, झापा, धनकुटा, ईलाम लगायत जिल्लाका विरामीको संख्या धेरै छ ।

सोलुखुम्वु, धनुषा, मकवानपुर, वारा र भक्तपुरका विरामीले पनि नोबेल अस्पतालमा आएर निःशुल्क उपचार गराउँदै आएका छन् । न्यून आर्थिक अवस्थाका कारण उपचारमा समस्या भईरहेका वेला निःशुल्क उपचार पाएपछि राहत महसुस भएको भन्दै विरामी र विरामीका आफन्तले खुशी ब्यक्त गरेका छन् ।

निःशुल्क उपचारको प्रकृया मिलाउँदै विरामीका आफन्तहरु

नोबेल अस्पतालमा नियमित डाईलाइसिस गराउँदै आएका सुनसरीका मनुलाल ठाकुरले भने ‘रोगले च्यापेर मृत्युको मुखमा पुगेको थिए, निःशुल्क उपचार पाएपछि वाँच्ने आधार बनेको छ ।’ यता टाउकोमा लागेको गंभीर चोटको उपचारकालागि आफन्तलाई नोबेल लिएर आएका सुनसरी चिम्ढीका विनोद कुमार चौधरीले पनि निःशुल्क उपचारले धेरै राहत मिलेको प्रतिक्रिया दिए । ‘आफ्नै खर्चले उपचार गर्न सक्ने अवस्था थिएन ।’ खुशी हुँदै चौधरीले थपे ‘धन्न निःशुल्क उपचार पाउँनाले ज्यान बचाउँन सकियो ।’

नोबेल अस्पतालमा निःशुल्क उपचारकालागि आउँनेमा मुटु रोगका विरामीको संख्या धेरै छ । १० महिनाको अवधिमा करिव ५० प्रतिशत मुटु रोगका विरामीले निःशुल्क उपचार गराएका छन् । अत्याधुनिक उपकरणको सहायतामा स्तरीय डाक्टरबाट गुणस्तरीय उपचार पाएपछि अस्पतालमा विरामीको संख्या पनि बढ्दै गएको नोबेल अस्पतालले जनाएको छ । विश्वकै दुर्लभ र जटिल शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको नोबेल अस्पताललाई गुणस्तरीय उपचारमा अब्बल मान्ने गरिन्छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्..

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!