काठमाडौं, २५ फागुन। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै।

डीडीसी स्रोतका अनुसार लैनचौरस्थित दुग्ध पदार्थ बिक्रीवितरण आयोजना, बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनासहित विराटनगर, हेटौडा, जनकपुर, बुटबल, नेपालगन्ज र धनगढी आयोजनाबाट दैनिक ठूलो मूल्यबराबरको तयारी दही चोरी हुने गरेको छ। आयोजनाका कर्मचारीले बजारमा पठाउने नाममा कम लगत देखाएर बढी प्याकेट चोरेर लैजाने गरेको तथ्य खुलेको छ।

Advertisement

स्रोतका अनुसार लैंनचौरको दुग्ध पदार्थ बिक्री रण आयोजनाबाट मात्रै दैनिक रुपमा २० हजारभन्दा बढी मूल्यबराबरको दहीको प्याकेट र जार चोरी हुने गरेको छ। केही दिनअघि कर्मचारीलाई कम लगत देखाएर गाडीमा राखेर बाहिर बढी प्याकेट लगेको डीडीसीको सुरक्षा गार्ड गोपाल निरौलाले फेला पारेका थिए। डीडीसी स्रोतकाअनुसार निरौंलाले उक्त आयोजनामा काम गर्ने एक जना कर्मचारीलाई २८ लिटर दूध लुकाएर आफ्नो गाडीमा लगेको फेला पारेका थिए।

रकम हिनामिना गर्ने ६ जनाको ग्रेड घटुवा

डीडीसीको रकम हिनामिना गर्ने ६ जना कर्मचारीको गे्रड घटुवा गरिएको छ। डीडीसीका सञ्चालक समितिका सदस्य विशाल बास्तोलाका अनुसार २०६३ सालदेखि २०७३ सालसम्मको अवधिमा उत्पादन भएका सामग्री बिक्री गरेर रकम नबुझाउने र उत्पादन भएका सामग्री अन्यत्र बिक्री गरी रकम दाखिला नगर्ने ६ जना कर्मचारीमाथि विभागीय कारबाही बापत ग्रेड घटुवा गरिएको हो।

दुग्ध पदार्थ बिक्रीवितरण आयोजना लैनचौरमा कार्यरत कर्मचारी प्रेम पराजुली, वेद शर्मा, सुभास राई, बृषबहादुर भुजेल, अर्जुन पन्थी र छवीलाल आलेको ग्रेड घटुवा गर्ने सञ्चालक समितिले निर्णय गरेको छ। डीडीसीले पराजुलीबाट ३४ लाख, शर्माबाट १२ लाख १७ हजार, राईबाट आठ लाख १३ हजार, भुजेलबाट तीन लाख ६३ हजार, पन्थीबाट ११ लाख र आलेबाट १७ लाख ९८ हजार रुपैयाँ असुल गर्न बाँकी छ।

कर्मचारीले दिनभर बिक्री भएको दूध, घिउ, पनिर, मिठाई, चिजलगायतको रकम संस्थाको खातामा दाखिला नगराई आफूखुसी प्रयोग गर्दैआएका थिए। हिनामिना भएको रकम बुझाउन डीडीसीले पटक पटक ताकेता गरेपनि अटेर गरेका कारण उनीहरूलाई विभागीय कारबाही गरिएको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!