सुरुङ्गा, झापा, २४ फागुन । एघारमध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइई) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक दाताले विद्यालयमा अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

बाह्रदशी गाउँपालिका–५ घोडामारा निवासी हरिप्रसाद मैनालीले सोही गाउँपालिकास्थित फूलबारी माविमा रु एक लाखको अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको हो । आफ्ना सबै छोरीले सोही विद्यालयमा अध्ययन गरी एसएलसी परीक्षा विशिष्ट श्रेणीमा उत्तीर्ण गरी सक्षम बनेबाट खुशी हुनुभएका उहाँले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

Advertisement

उहाँले भन्नुभयो – “मेरा सबै छोरी यही स्कूल पढेर सक्षम भए । अरूका छोराछोरी पनि मेरा छोरी झँै सक्षम भएको हेर्ने मलाई रहर छ ।” सामुदायिक विद्यालय प्रतिको नकारात्मक धारणा हटाउन सबैलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयप्रति सबैको चासो र चिन्ता हुने हो भने सामुदायिक विद्यालयमा पढेका विद्यार्थी तीक्ष्ण बुद्धिका बन्छन् ।”

हरिप्रसादका १० छोरी एकै आमाका सन्तान हुन् । उहाँकी कान्छी छोरी अञ्जु मैनाली अहिले कक्षा १२ मा अध्ययनरत छिन् भने नौ छोरी आ–आफ्नै पेशा–व्यवसायमा अब्बल रहेको बताइएको छ । जेठी विष्णु र कान्छी कैशिला हरिप्रसादका श्रीमती हुन् । उहाँकी जेठी श्रीमती विष्णुको निधन भइसकेको छ । एघार छोरीका बुबा हरिप्रसादलाई अहिले विष्णुको कोखबाट जन्मिएकी जेठी छोरीलाई पढाउन नपाएकामा दुःख छ । “गरिबीका कारण जेठी छोरीलाई मैले पढाउन सकिनँ, कान्छीका कोखबाट जन्मिएका सबै छोरी सक्षम भए,” उहाँले भन्नुभयो, “पढाइभन्दा ठूलो धन केही रहेनछ ।”

विद्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आउनुभएका उहाँले विद्यालयमा अक्षयकोष स्थापनाका लागि रकम प्रदान गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिसहित पठन–पाठनको व्यवस्था मिलाउन सबैलाई आग्रहसमेत गर्नुभयो । विसं २००७ सालमा स्थापना भएको सो विद्यालय झापाकै पुरानो विद्यालय मध्येको एक हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!