काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट नेत्री रेणु दाहाल लड्ने भएकी छन् ।

गृह जिल्ला चितवनबाट नै आफूलाई स्थानीय तहको निर्वाचनका लागि आउन बारम्बार दबाब आएको भन्दै रेणुले काठमाडौं महानगरपालिकामा मेयरमा उठ्ने हल्ला चलिरहेका बेला यसो भनेकी हुन्। उनले भनिन्, ‘म काठमाडौंमा होइन, भरतपुर महानगरपालिकाको मेयरमा उठ्छु ।’

काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट गगन थापा, नेकपा एमालेबाट योगेश भट्टराईसँगै नेकपा माओवादीबाट रेणु दाहाल उठ्ने हल्ला बाहिर आएको थियो ।

Advertisement

‘काठमाडौंका विषयमा हाम्रा अन्य उम्मेदवार रहनुहुनेछ, यसमा मेरो चर्चाको कुरामा त्यति सत्यता छैन । मैले काठमाडौंका दाबी पनि गरेकी छैन’, रेणुले भनिन्,‘मेयरको उम्मेदवार बन्ने अवसर पाउँदा मैले भरतपुरबाटै लड्ने सोच बनाएकी छु ।’

देशका ४ महानगरपालिकामा अहिलेसम्म मेयरमा महिला राजनीतिकर्मीको दाबी र चर्चा नभएका बेला रेणुले भरतपुर महानगरमा आफ्नो उम्मेद्‌वारीको चासो देखाएकी हुन् ।

संविधानसभा निर्वाचनका बेला काठमाडौं क्षेत्र नं १ बाट सभासदमा माओवादी तर्फबाट पराजय व्यहोरेकी उनले भनिन्, ‘मलाई चितवनका जनताले बोलाइरहेका छन्, म त्यहीँ गएर गृहजिल्लाको राजनीतिमा सक्रिय हुनेछु ।’

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपुत्री रेणुले गृहजिल्लाको पारिवारिक राजनीतिक विरासतमा हात हाल्ने चासो देखाएकी छिन् । उनले भनिन्, ‘पार्टीले उम्मेदवारीमा सिफारिस गरेको खण्डमा मेरो इच्छा नै भरतपुरबाट लड्ने छ ।’

पार्टीमा आमुख कार्यकर्ताको हैसियतमा काम गरिरहेकी रेणुका लागि नेकपा माओवादी चितवन जिल्ला कमिटिले पनि मेयरमा उम्मेदवार हुन योग्य उम्मेदवार ठानेको छ । संविधानसभा निर्वाचनका बेला रेणु काठमाडौंका जनताका घर घरमा पुगेकी थिइन् । बाबु प्रधानमन्त्री भए पनि रेणुले तल्लो तहबाटै राजनीतिमा आफ्नो सक्रियता देखाएकी छन् ।

यसैबीच स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा चितवनको भरतपुर महानगरपालिकामा चुनावी सरगर्मी बढ्दै गएको छ ।

चितवन जिल्ला भरीमा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छन् । भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । प्रत्येक वडाबाट आउने एक–एकजना वडा अध्यक्ष, चार–चारजना सदस्य तथा मेयर र उपमेयर गरी स्थानीय प्रतिनिधिको संख्या महानगरपालिकामा एक सय २७ जना पुग्नेछ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा महानगरपालिकामा राजनीतिक दलहरु आफ्ना दलका प्रतिनिधि छनौटको कसरतमा लागि परेका छन् । यद्यपि अहिलेसम्म दलहरुले कुनै पनि पदमा आफ्नो उम्मेद्वार घोषणा गर्न सकेका छैनन् । यहाँ कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबीच नै मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ । सेतोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!