संगालोखबर संवाददाता

काठमाडौं, १७ फागुन । सरकार र संघीय समाजवादी फोरमबीचको छलफल विनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको छलफल विनानिष्कर्ष टुंगिएको हो ।

संविधान संशोधन, सरकारको नीति तथा कार्यक्रम र मन्त्रालय बाँडफाँडसहितका विषयमा केन्द्रित रहेर सरकार र फोरमबीच छलफल भएको थियो । तर, केही विषयमा छलफल बाँकी नै रहेकाले बिहीबार पुनः बस्ने गरी छलफल टुंगिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘छलफल सकारात्मक दिशामै अघि बढेको छ, तर कतिपय विषय बाँकी नै रहेकाले बिहीबार पुनः बस्ने गरी छलफल टुंगियो,’ श्रेष्ठले भने ।

Advertisement

लिखित राजनीतिक सहमतिपछि सरकारमा सहभागी हुन फोरम तयार देखिएकाले प्रधानमन्त्री केपी ओलीले सरकारलाई पूर्णता दिन ढिलाइ गरिरहेका छन् । यसअघि एमाले र माओवादी केन्द्रको सहभागितामा गत सोमबार नै १८ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी थियो । तर, फोरमसँग लिखित सहमति र मन्त्रालय बाँडफाँडका विषयमा तीन दिनदेखि लगातार द्विपक्षीय छलफल चल्दै आएको छ ।

बुधबारको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी ओली, एमाले नेता माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ र प्रदीप ज्ञवाली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए । त्यस्तै, फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता सहभागी थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement