गाईघाट, उदयपुर, १५ फागुन । सदरमुकाम गाईघाटस्थित त्रियुगा बसपार्क परिसरमा आजदेखि दशदिने प्रदेशस्तरीय महोत्सव शुरु भएको छ ।
उक्त महोत्सवमा १८८ व्यापारिक कक्ष रहेको छ । जिल्लामा उत्पादित वस्तुको बजारीकरण गर्न तथा प्रदेश नं १ का अन्य जिल्लाका वस्तु बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको त्रियुगा उद्योण वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले बताउनुभयो ।
महोत्सवमा चौँरीको छुर्पीदेखि खुकुरी तथा राडीपाखीसम्म बिक्रीका लागि राखिएको छ ।
छ करोडको तेजपात उत्पादन
जिल्लामा यस वर्ष रु छ करोड मूल्य बराबरको तेजपात उत्पादन भएको छ । जिल्लाका हर्देनी, सिरिसे, मयङ्खु, लेखानी, तावाश्री, लेखगाउँ, बाहुनीटार, डुम्रे, भलायाडाँडालगायत क्षेत्रमा व्यावसायिक रुपमा तेजपात उत्पादन हुँदै आएको सहायक वन अधिकृत लालबाबु यादवले बताउनुभयो ।
जिल्लाको मध्य पहाडी क्षेत्रको रौता, मुर्कुची, सल्ले, आँपटार, साउने, खाँबु र चौदण्डी क्षेत्रमा समेत व्यावसायिक रुपमा तेजपातको खेती हुँदै आएको छ । खाँबुका कृषक कर्ण मगर तेजपातको उचित मूल्य पाउन नसकेको बताउनुहुन्छ । तेजपात बिक्रीका लागि विराटनगरसम्म पठाउने गरिएको उहाँको भनाइ छ ।
“वर्षेनी घाटा खाएर तेजपात बिक्री गर्नु पर्ने बाध्यता छ,” उहाँले भन्नुभयो ।
सात करोडको सुन्तला उत्पादन
यस वर्ष जिल्लामा रु सात करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार २७७ हेक्टर क्षेत्रफलमा यस वर्ष झण्डै तीन हजार ३२५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष पाँच प्रतिशत बढी सुन्तला उत्पादन भएको कार्यालयका प्राविधिक मोहनलाल फुयाँलले बताउनुभयो । जिल्लाको ओख्ले, सिरिसे, हर्देनी, लेखानी, मयङ्खु, रुपाटार, बाहुनीटार, लेखगाउँ, तावाश्री, आँपटार, रौता, सल्ले, ठानागाउँ, बाँसबोटे, बराह, बलाम्ता, ताम्लिछा, लाफागाउँ, जाँतेलगायत क्षेत्रमा व्यावसायिक रुपमा सुन्तलाखेती हुँदै आएको छ ।
“जिल्लामा करिब रु १० करोड मूल्य बराबरको सुन्तला उत्पादन हुन्छ,” फुयाँलले भन्नुभयो ।