संगालोखबर संवाददाता

संखुवासभा, १५ फागुन । अरुण तेस्रो परियोजनाका लागि जिल्ला प्रशासन कार्यालयले २ सय ५८ परिवारलाई मुआब्जा वितरण गरेको छ । उनीहरूलाई १ अर्ब ९५ करोड २५ लाख ३७ हजार १ सय ५ रुपैयाँ वितरण गरेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

Advertisement

‘प्रभावित क्षेत्रका २ सय ५८ परिवारलाई बैक मार्फत मुआब्जा वितरण गरिसक्यौं,’ उनले भने, ‘सबैलाई बैंक खाता खोल्न लगाएर वितरण गरेका हांै ।’ उनले ११ परिवारलाई ४ करोड ८५ लाख वितरण गर्न बाँकी रहेको बताए । ‘११ परिवारमध्ये जग्गावाला केही विदेशमा रोजगारीका लागि गएका छन्,’ उनले भने, ‘विभिन्न कारणले मालपोतमा जग्गा रोक्का भएका र दर्ता नगरिएका जग्गावालाले मुआब्जा लगेका छैनन् ।’ प्रक्रिया पूरा गरेर आए तत्कालै
उपलब्ध गराउने उनले बताए । अरुण निर्माण हुँदा २ सय ६९ परिवार विस्थापित हुनेछन् ।
प्रजिअ जोशीका अनुसार २ अर्ब बढी अरुण प्रभावितले मुआब्जा पाउनेछन् । मुआब्जा निर्धारण समितिले भारतीय सतलज, प्रशासन र विस्थापितसँगको सहमतिमा रकम मुआब्जाको रकम निर्धारण गरेर वितरण गरेको उनले बताए । नुम, पाथिभरा, याफु, मकालु, पावाखोला र दिदिङका प्रभावितलाई मुआब्जा वितरण गरिएको हो । ९ लाखदेखि ६ करोड रुपैयाँसम्मएकै व्यक्तिले मुआब्जा लगेको जोशीले बताए ।
नुमका प्रभावित विमन पराजुली अहिले वितरण गरिएको मुआब्जाले प्रभावितहरू खुसी भएको बताए । ‘प्रभावित क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ,’ उनले भने, ‘स्थानीयसँग समन्वय गरी भारतीय सतलज कम्पनीले प्रशासन मार्फत मुआब्जा वितरण गर्नु राम्रो भयो । ‘लगानी बोर्डले मुआब्जा पाएकाहरूका लागि वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गरेको थियो ।
पाथीभरामा बाँध र दिदिङको पुखुवाबाट विद्युत् उत्पादन हुने आयोजनाबाट ९ सय मेगावाट उत्पादन हुनेछ । कुल एक खर्ब चार अर्ब लागतमा यो आयोजना निर्माण हुने जनाइएको छ । कुल २३ मिटर अग्लो बाँध बाँधी २२५ मेगावाट क्षमताको चार टर्बाइन मार्फत विद्युत् निकालिनेछ । प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिघर ३० युनिट बराबर नि:शुल्क बिजुली प्रदान गरिने पीडीएमा सम्झौता भएको छ ।
नेपालले प्राप्त गर्ने बिजुली छाडेर प्रवद्र्धकले ढल्केबर सबस्टेसन हुँदै भारतको मुजफ्फरपुरसम्म विद्युत् पुर्‍याउनेछ । सन् ०२२ सम्ममा काम सम्पन्न गर्ने भारतीय सजलज कम्पनीले सरकारसँग सम्झौता गरेको छ ।
नेपालले २१ दशमलव ९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट बिजुली नि:शुल्क प्राप्त गर्नेछ ।
०६५ कात्तिक २७ देखि सतलजले अरुण–३ को ड्यामसाइड नुमकोफ्याक्सिन्दा र पावरहाउस दिदिङको पुखुवाबाट विस्तृत सर्भे थालेको थियो । सतलजले नुम, खाँदबारी, कुवापानी, काठमाडौंमा साइड कार्यालय सञ्चालन गर्दै कर्मचारी नियुक्तिलाई तीव्रता दिइरहेको छ । सदरमुकाम खाँदबारीबाट नुमको फ्याक्सिन्दासम्म कच्ची सडकको डोब खनिसकिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement