खोटाङ, १२ फागुन ।  धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी बजार आसपासमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घरटहरा भत्काउन शुरु गरिएको छ ।

हलेसी गुठी संस्थानको नाममा रहेको जग्गा तथा बजार आसपासमा जथाभावी बाटै छेकेर निर्माण गरिएका घरटहरा शुक्रबारबाट हटाउन शुरु गरिएको हो ।

Advertisement

मापदण्डविपरीतका संरचना हटाउन चौथो पटक दिएको म्याद बित्दासमेत अटेर गरेपछि डोजर लगाएर घरटहरा भत्काउन थालिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताउनुभयो । “सार्वजनिक सूचना प्रकाशन, सूचना टाँस एवं माइकिङ गरेर आग्रह गर्दासमेत स्थानीयले टेरेनन् ।” उहाँले भन्नुभयो, “नगरपालिकाका तर्फबाट गरिएको आग्रहलाई नमानेपछि बल प्रयोग गरिएको हो ।”

नगरपालिकाले हलेसी आसपासका २१ जना स्थानीयको २३ वटा घरटहरा डोजर लगाएर भत्काएको छ । मुआब्जा लिएर पनि सोही ठाउँमा घरटहरा निर्माण गरेर व्यापार व्यवसाय गरिरहेका सबैको घरटहरा भत्काइने नगरप्रमुख राईले बताउनुभयो ।

हलेसी बजारलाई सुन्दर धार्मिक तथा पर्यटकीय नगरीका रुपमा विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले सार्वजनिक एवं सडक छेउको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरालगायतका संरचना हटाउन थालेको जनाइएको छ । हलेसीमा निर्माण भएका अधिकांश घर तथा टहरा गुठी संस्थानको नाममा रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो ।

घरटहरा हटाउन जिल्लाबाट सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी सुरक्षाकर्मीसहितको टोली लिएर हलेसी पुग्नुभएको छ । नगरपालिकाले बल प्रयोग गरेर घरटहरा हटाएपछि कतिपय स्थानीयको विचल्ली भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!