- संगालोखबर सम्वाददाता

धनकुटा, ९ फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञवहादुर खत्री नेतृत्वको उच्च स्तरिय टोलीले सरकारी स्वामित्वमा रहेका धनकुटाका भौतिक संरचनाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश नं.१ को राजधानी धनकुटा वनाउन गठित आन्दोलन परिचालन समितिसंग वार्ताका लागि बनाईएको सरकारी टोलीले भौतिक संरचनाको अध्ययन गरी जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षिय बैठकमा प्रतिवेदन सार्वजनिक गरेको हो ।

दुई हप्ता अघि वार्ता टोलीका संयोजक खत्रीको संयोजकत्वमा वसेको सर्वपक्षिय वैठकले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्र खतिवडाको संयोजकत्वमा ५ सदस्यीय प्राविधिक टोली गठन गरिएको थियो । उक्त टोलीद्धारा सार्वजनिक प्रतिवेदन अनुसार धनकुटामा संचालनमा रहेका ५७ वटा सरकारी कार्यालयको हालको अवस्था र भवनसंगै २ सय ४१ वटा साना सवारी साधनको पार्किङ्ग क्षमता उल्लेख छ ।

त्यसैगरी पाख्रीवास कृषि अनुसन्धान केन्द्रको १८ सय ४० रोपनी क्षेत्रफल हेलिप्याडसमेत गरी ४० वटा कार्यालयको भवन, ४० वटा आवास, ५ सय भन्दा माथि क्षमता भएको २ वटा सभाहल र पार्किङ्ग स्थल प्रयाप्त रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

उता उत्तरपानी प्राविधिक शिक्षालयको ८ सय ६५ रोपनीमा २० रोपनी पानीको श्रोत, हेलिप्याडसमेत भएको, १५ वटा कार्यालयको भवन र ६ वटा आवासहित अडियो÷भिडियोसहितको २ सय जना आट्ने अत्याधुनिक सभाहलसहित प्रयाप्त पार्किङ्ग स्थल भएको उल्लेख छ ।

प्रतिवेदनमा पारिपात्ले राष्ट्रिय सुन्तलाजात अनुसन्धान केन्द्रको ३ सय ६० रोपनी क्षेत्रफलमा ११ वटा कार्यालय भवन, ११ वटा आवास, १ सय जना अट्ने सभाहल र प्रयाप्त पार्किङ्ग स्थल भएको उल्लेख छ । साथै नगर विकास समितिको नाममा रहेको ४८ हजार ६ सय रोपनी जग्गामा नयाँ भवन निर्माण गरि मन्त्रालय राखिएका साविकका कार्यालयहरुलाई स्थान्तरण गर्न सकिने पनि उल्लेख गरिएको छ । नेपाल टेलिकम, नेपाल विधुत प्राधिकरण, अन्य आइएनजिओहरुको भवनको विवरण भने प्रतिवेदनमा संलग्न गरिएको छैन ।

सर्वपक्षिय भेलामा भौतिक संरचनाको पुरक प्रतिवेदन माथि छलफल भएको थियो । साथै, उच्च स्तरिय टोलीले धनकुटा प्रदेश नं.१ को राजधानी हुन उपयुक्त रहेको ठहरसमेत गरेको छ । उक्त प्रतिवेदन निणयार्थ प्रश्तुत गर्न एक नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईलाई पेश गर्ने टोलीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!