दमक, २७ माघ ।  नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई अब नयाँ ऊर्जा दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

Advertisement

नेपाली काँग्रेस, झापा क्षेत्र नं ५ ले आज झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजना गरेको क्षेत्रीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले काँग्रेसको अहिलेसम्मको परिपाटीलाई परिवर्तन गरी अब नयाँ ढंगले पार्टीलाई आमूल परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले त्यस्तो परिवर्तन अब तल जरैबाट शुरु हुने दाबी गर्नुभयो ।

शर्माले अबको पाँच वर्ष काँग्रेस सभ्य प्रतिपक्षको भूमिकामा रहेर आफ्नो संगठन निर्माणमा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेसलाई पुनर्जीवन दिनका लागि अब सबै कार्यकर्ताले नयाँ सोच र नयाँ ढंगबाट काम गर्नुपर्ने खाँचो छ ।”

काँग्रेसको नेतृत्वमा मुलुकका हरेक परिवर्तन सम्भव भएको उल्लेख गर्दै प्रवक्ता शर्माले भन्नुभयो, “मुलुकको अहिलेको आर्थिक र सामाजिक परिवर्तन पनि कांग्रेसकै कारण सम्भव भएको छ ।”

काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भएकै समयमा काँग्रेसले समावेशीताको अभियान शुरु गरेकोमा जोड दिँदै प्रवक्ता शर्माले पछिल्लो समय संविधान जारी भएपछि पनि मधेशमा लागेको आगो पनि काँग्रेसले नै शान्त पारेको स्पष्ट पार्नुभयो ।

पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघ झापाका पूर्व सभापति पर्शुराम रिजाल, पार्टीका पूर्व जिल्ला कोषाध्यक्ष देवी दाहाल, आत्माराम राजवंशीलगायतले पार्टी संगठन र पार्टीको नयाँ कार्यनीतिका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!