विराटनगर, २३ माघ । नेकपा (एमाले)बाट विजयी हुनुभएको प्रदेश नं १ का प्रदेश सदस्यहरुलाई आज यहाँ सम्मान गरियो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन प्रदेश संगठन कमिटीद्वारा आज आयोजित उक्त कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिकतर्फबाट विजयी ५१ जनालाई सदस्यलाई सम्मानपत्र एवम् फूलमालाद्वारा स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।

Advertisement

एमाले केन्द्रीय सचिव एवम् सांसद योगेश भट्टराईले सम्मानपत्र वितरण गर्दै एक नं प्रदेशमा रहेको जलस्रोतको अपार भण्डारको उचित व्यवस्थापन गरी जनताको आर्थिक समृद्धि निर्माणतर्फ प्रादेशिक सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

एमाले पोलिटब्यूरो सदस्य एवम् सांंसद लालबाबु पण्डितले अब निर्माण हुने प्रदेश र संघीय सरकारले सरकारी विद्यालय तथा क्याम्पसमा कार्य गर्ने स्थायी शिक्षकलाई निजी क्षेत्रका विद्यालयमा अध्यापन गर्ने कार्यमा रोक लगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

एमालेका कार्यालय सचिव एवम् सांसद भानुभक्त ढकालले एमालेको सही नेतृत्व र विचारले प्रदेश तथा संघीय संसद्को निर्वाचनमा विजय प्राप्त भएको बताउँदै जनताको विकासको चाहनालाई पूरा गराउन एकजुट लाग्नुपर्ने बताउनुभयो ।

एमाले १ नं प्रदेश संयोजक एवम् प्रदेश सदस्य भीमप्रसाद आचार्यले आगामी सरकारले सत्तरी प्रतिशत प्राविधिक तथा तीस प्रतिशत साधारण शिक्षा अध्ययन गर्ने नीति ल्याएमा देशको उद्योग, जलविद्युत् तथा आधुनिक कृषिका दक्ष जनशक्ति उत्पादन हुने धारणा व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री एवम् सभासद् शेरधन राईले प्रदेश सरकारले स्थायी शान्ति र सुशासन कायम गरी जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने कार्यमा सबै एकजुट भई लाग्नुपर्ने बताउनुभयो ।

एमाले मोरङका अध्यक्ष विनोद ढकालले रोजगारीमूलक शिक्षामा जोड दिई विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगार दिने कार्यमा आगामी सरकार सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष नविना लामाले शिक्षा क्षेत्र तथा विश्वविद्यालयमा देखिएको विकृति तथा विसंगति हटाउनुपर्नेमा जोड दिनुभयो ।

युनियनका १ नं प्रदेश संयोजक वसिम आलमको सभापतित्वमा भएको उक्त कार्यक्रममा युनियनका मकर खड्का, भाष्कर खनाल र रामशरण चौधरीले आगामी सरकारले प्राविधिक शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!