संखुवासभा, २१ माघ । नेपाली काँग्रेस संखुवासभाद्वारा आयोजित सात सभापतिको देश दौडाहा अभियान अन्तर्गत संखुवासभा भ्रमण कार्यक्रम सदरमुकाम खाँदबारीमा सम्पन्न भएको छ ।
रोल्पा सभापति एवं सिँचाइ राज्यमन्त्री अमरसिंह पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुनले मुलुकको बदलिँदो परिस्थितिमा जनता र पार्टीका कार्यकर्ताको जनभावना बुझेर अघि बढ्नुपर्ने बताउनुभयो ।
राज्यमन्त्री पुनले हालै सम्पन्न भएको संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा हार हुँदैमा आवधिक निर्वाचनमा भएको यो हारबाट निरुत्साहित नहुन संखुवासभाका काँग्रेस कार्यकर्तालाई आग्रह गर्दै मुलुकको समसामयिक अवस्थामा काँग्रेसको भूमिका महत्वपूर्ण हुनेहुँदा मुलुक संघीय संरचनामा गइरहेका बेला नेपाली काँग्रेसको अगुवाइमा सम्पूर्ण संरचना तयार गरेर सत्ता हस्तान्तरण गर्न पार्टी तयार रहेको धारणा राख्नुभयो ।
मन्त्री पुनले थप्नुभयो, “दक्षिणी सिमानामा विशाल राष्ट्र भारत र उत्तरी सिमानामा चीनजस्तो शक्तिसम्पन्न राष्ट्रका बीचमा नेपाल रहेको र त्यसमा पनि उत्तर–दक्षिण नाकाको ट्रान्जिट पोइन्ट संखुवासभा जिल्ला भएको हुँदा आर्थिक समृद्धिको हिसाबले यो जिल्ला देशमै अग्रस्थानमा पुग्न सक्नेहुँदा काँग्रेसले त्यसको अगुवाइ गर्नेमा ढुक्क रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।”
कार्यक्रममा पाँचथर सभापति नगेन्द्रकुमार केरुङ, गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ, प्यूठान सभापति अमरप्रसाद भण्डारी, तेह्रथुम सभापति गोविन्दप्रसाद ढुंगाना सहितका पार्टी सभापतिले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
सो कार्यक्रमको सभापतित्व संखुवासभाका सभापति दीपनकुमार श्रेष्ठले गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य महाधिवेशन प्रतिनिधि कुमारबाबु अधिकारीले गर्नुभएको थियो ।
आजै सदरमुकाम खाँदबारीमा नेपाल प्रेस युनियन संखुवासभाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पुनले संखुवासभा जिल्लालाई आर्थिक समृद्धिको दिशातर्फ संखुवासभा जिल्ला अग्रस्थानमा रहेको स्मरण गर्नुभयो ।
छसय भन्दा बढी नदीनाला भएको जिल्ला भएपनि सम्पूर्ण हिसाबले देशमा अहिले पनि खानेपानीको समस्या तथा सिँचाइको अभाव जनताले भोगिरहेको तीतो यथार्थतालाई मध्यनजर गर्दै आफूहरु देश दौडाहामा आएको उहाँले बताउनुभयो । सात जिल्ला सभापतिको यात्रा इलामबाट शुरु गरिएको र आज संखुवासभा हुँदै भोजपुर जाने तयारी भइरहेको अभियानका युवा नेता दीपनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाभरिका सञ्चारकर्मीको उपस्थितिमा प्रेस युनियनका सभापति श्यामप्रसाद निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस युनियनका पूर्वसभापति पदम अधिकारीले स्वागत गर्दै आफ्ना धारणा राख्नुभएको थियो ।















