
धनकुटा, २१ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार स्थित अाेख्रेमा सञ्चालन हुने ओख्रे खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
आगामी वैशाख १८ गते सम्ममा निमार्ण सम्पन्न गर्ने लक्ष्य लिईएको आयोजनाको ८० प्रतिशत कार्य सम्पन्न भएको प्राविधिक बीरबहादुर भण्डारीले जानकारी दिए ।
गत वर्ष असार दोश्रो सातादेखि थालिएको आयोजनाको ईन्टेक,सम्प वेल,रिर्जवर टयाङ्की निमार्ण लगायतका कार्य सम्पन्न भईसकेको छ । फण्ड वोर्ड काठमाण्डौको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा ५५ लाख ६० हजार रुपैयाँ बरावरको लागतमा आयोजना निमार्ण सम्पन्न हुने भएको हो ।
आयोजनाका लागी फण्ड वोर्ड काठमाण्डौको ४३ लाख ६६ हजार लगानी रहेको छ भने बाँकी स्थानीय समुदायको जनश्रमदान रहेको छ । लिफ्टिङ्ग प्रणालीबाट सञ्चालन हुने खानेपानी आयोजनाबाट १ सय १९ घरधुरी लाभान्वित हुने खानेपानी आयोजनाका सरसफाई अधिकृत चन्द्रा थापाले बताइन् । स्थानीय कात्तिके खोलामा रहेको पानीलाई लिफ्टिङ्ग सिस्टमबाट उपयोगमा ल्याईने भएको हो ।
आयोजनाको लिफ्टि सिस्टमको मेसिन जडान, धारा वितरण लगायतका काम बाँकी रहेको सरसफाई अधिकृत थापाले जानकारी दिइन् । खानेपानीको समस्या झेल्दै आएका ओख्रेका स्थानीयवासीका लागी चार किलो मिटर दुरीमा रहेको मुहानको पानी लिफ्टि सिस्टमबाट आउने भएपछि स्थानीयबासी खुसी भएका छन् ।
गाग्रीमा भरेर डोकोमा बोकेर पानी ल्याउनु पर्ने अवस्थाबाट अब मुक्त हुने आशा पलाएको आयोजना उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर पुलामी मगर बताए । एक ग्राग्री पानीका लागी दुई घण्टा भन्दा टाढा गएर पानी ल्याउनु पर्ने अवस्थाको अब अन्त्य हुने भएकाले घरायसी प्रयोजन साथै कृषि पेशा गर्न समेत सहयोग पुग्ने भएको मगरको भनाई छ ।
खानेपानी घण्टै टाढा गएर ल्याउदै आएको भएपनि अव यस आयोजनाले आफुहरुलाई राहत मिल्ने र घरैमा धाराको पानी उपयोग गर्न पाउने भएपछि अत्यन्तै खुसी लागेको साँगुरीगढी गाउँपालिका–५ ओख्रेबजारका स्थानीय वाल्मिका लुङ्गगेली मगर बताउँछन् ।
ओख्रे खानेपानी तथा सरसफाई आयोजना मार्फत साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारमा पुर्ण सरसफाई सम्बन्धि क्रियाकलाप सञ्चालनगरि यस अघि नै पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिसकिएको छ ।















