तेह्रथुम, १३ माघ।  तेह्रथुमबाट निर्वाचित सांसदहरुले तमोर जलाशययुक्त आयोजना निर्माणको योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

Advertisement

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भवानीप्रसाद खापुङले तमोर जलाशययुक्त आयोजना बनेमात्रै पनि तेह्रथुम जिल्लाको समृद्धि सम्भव भएकाले त्यस्तो महत्वको योजना निर्माण गर्न आफूले सक्दो भूमिका खेल्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले पनि प्रादेशिक सरकारको प्राथमिकताको योजनाका रुपमा सो आयोजनालाई अगाडि बढाउन पहल गर्ने धारणा राख्नुभयो । जिल्लाको शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र खानेपानीजस्ता विभिन्न आवश्यकतालाई पूर्ति गर्न स्थानीय तहसँग सहकार्य गरी काम गर्ने सांसदहरुले प्रतिबद्धता जनाएका छन् ।

आज तेह्रथुमको पहिलो सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेमको दशौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसदद्वय खापुङ र तिवारीले यस्तो बताउनुभएको हो । सो अवसरमा रेडियो मेन्छ्यायेमले संघीय सांसद भवानीप्रसाद खापुङ, प्रदेश सभा (क) क्षेत्रका सांसद लक्ष्मण तिवारी र प्रदेशसभा (ख) क्षेत्रका सांसद तेजमान कन्दङ्वालाई सम्मानसमेत गरेको छ ।

कार्यक्रममा रेडियो व्यवस्थापन समितिका संयोजक भूपतिलाल श्रेष्ठले खादा र अबिरजात्रा गरी सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

वार्षिकोत्सवकै अवसरमा रेडियो मेन्छ्यायेमले पूर्व रेडियोकर्मी तथा छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूलाई पनि सम्मान गरेको छ । रेडियो मेन्छ्यायेम माघ ११ गतेदेखि आफ्नो प्रशारणको १० वर्ष पूरा गरी एघार वर्षमा प्रवेश गरेको स्टेशन म्यानेजर प्रेमचन्द्र निंलेकुले जानकारी दिनुभयो ।

तमोर जलाशययुक्त आयोजना (७६२ मेगावाट) तेह्रथुम र पाँचथरको सीमा भएर बग्ने तमोर नदीको लुमुघाट नजिकै निर्माणका लागि भौगोलिक अध्ययनको काम भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!