नयाँपत्रिका

पाँचथर , ११ माघ। जिल्ला अस्पताल पाँचथरले करिब एक महिनादेखि नयाँ भवन निर्माण सुरु गरेको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले २१ करोड ३४ लाखमा सो भवन निर्माणको जिम्मा लिएको छ ।

Advertisement

जिल्ला अदालत पाँचथर पनि भवन निर्माणको चरणमा छ । ३ करोड ३७ लाख लागतमा निर्माण हुन लागेको सो भवन जिल्लाको ठूला भवनमध्येमा पर्छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले निर्माण गर्दै गरेको भवन पनि जिल्लाका ठूला भवनमध्ये पर्छ ।

तर, अधिकांश सरकारी भवन नक्सा पासविनै निर्माण भइरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार भवन निर्माण अघि नक्सा पास अनिवार्य छ । तर, अधिकांश सरकारी कार्यालयले सो कानुनी व्यवस्थालाई बेवास्ता गरिरहेका छन् ।

राज्य पुनर्संरचनासँगै नगरपालिकाले सो कानुनी व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्ने भए पनि नगरपालिका नै अलमलमा छ । नगरपालिका स्थापना भएयता बनेका भवनको पनि नक्सा पास छैन । नक्सा पास नभएका धेरै सरकारी तथा गैरसरकरी निकायका भवन निर्माताले नक्सा पास गर्न अपनाउनुपर्ने न्यूनतम तयारीसमेत गरेका छैनन् ।

नगरपालिका बन्नुपूर्वका भवनलाई फिदिम नगरपालिकाले अभिलेखीकरण गर्ने प्रवधान बनाए पनि कसैले त्यसलाई अवलम्बन नगरेको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए । ‘हामीले नियमसंगत भवन निर्माणका लागि लगातार काम गरिरहेका छौँ,’ उनले भने, ‘नक्सा पासविनै भवन बनाइरहेका ६० जनालाई सचेत गराएका छौँ ।’

कानुनमा यस्तो छ व्यवस्था
नयाँ बन्ने भौतिक संरचनाको गाउँपालिका वा नगरपालिकाले नियमित अनुगमन गर्नुपर्ने स्थानीय तह सञ्चालन ऐन २०७४ मा उल्लेख छ । ऐनअनुसार भवन बनाउनुपर्ने प्रावधानलाई बेवास्ता गर्दै बनाइएका संरचनालाई कानुनी दायरामा ल्याउने जिम्मेवारी पनि नगरपालिककै हुनेछ । स्थानीय तहअघि नै भवन बनेको भए तीन गुणा दस्तुर लिएर अभिलेखीकरण गर्ने प्रावधान ऐनमा छ ।

निर्माणाधीन भवनको नक्सा पास नभएको अवस्थामा नगरपालिकाले अधिकतम ५ लाखसम्म जरिवाना गराउन सक्छ । फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘ऐनका विषयमा सबैलाई थाहा छ । तैपनि, विपरीतका काम भएको छ ।’

नगरपालिकामा अहिले भवनको अभिलेख दुई तरिकाबाट भइरहेको छ । पुराना भवन भए तोकिएको दस्तुर लिएर अभिलेखीकरण गर्ने, नयाँ भए नक्सा पास गराउने । तर, सदरमुकाम क्षेत्रमा निर्माण भएकामध्ये १० प्रतिशत भवन पनि प्रक्रियामा नरहेको नगरपालिका स्रोतले बताएको छ ।

नक्सा पास नभएका भवन
सरकारी भवनमध्ये तीनबाहेक कसैले पनि नक्सा पास गरेका छैनन् । जिल्ला हुलाक कार्यालय, फिदिम नगरपालिका कार्यालय र नयाँ सहर आयोजनाको कार्यालयको मात्रै नक्सा पास भएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय (जवान अधिकृत आवास) भवन, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्राविधिक कार्यालयलगायत एक दर्जन कार्यालयले तीन वर्षको बीचमा भवन निर्माण गरेका छन् । तीमध्ये कुनै पनि कार्यालयले नक्सा पास गराएका छैनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!