धनकुटा, ९ माघ । सरकारले १ नम्वर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेपछि आक्रोसित बनेर आन्दोलन चर्काएका धनकुटाबासीले सरकारलाई ७ दिन भित्र वार्ता वोलाएर माग संबोधन गर्न अल्टिमेटम दिएका छन् ।
आन्दोलन परिचालन समितिले मंगलवार धनकुटामा पत्रकार सम्मेलन गरी यस्तो अल्टिमेटम दिएको हो ।
आन्दोलनको निकासका लागि जिल्ला स्तरीय सरकारी अधिकारीहरुले उच्च तहका सरकारी अधिकारी, प्रदेशस्तरीय प्रदेश प्रमुख वा केन्द्रिय तहमा मन्त्रीस्तरमा वार्ताका लागि पहल गर्न माग गरिएको छ ।
सोमबारसम्म ६ दिने आमहड्ताल गरेका जिल्लाबासीले आन्दोलन परिमार्जन गर्दै सरकारलाई माग संबोधनका लागि ७ दिनको म्याद दिएका हुन् ।
आन्दोलन परिमार्जन गर्दै मंगलबारबाट एक हप्ताका लागि दैनिक १२ देखि १ बजेसम्म एक/एक घण्टा चक्काजाम थालिएको छ ।
सरकारले माग संबोधनमा चासो नदेखाएमा १६ गतेबाट पुनः अनिश्चितकालिन आमहड्ताल गरिने आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिएका छन् ।
धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै बिगत ४० दिनयता निरन्तर आन्दोलन भईरहेको छ ।
यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटा हरेक हिसावले प्रादेशिक राजधानीका लागि उपयुक्त रहेकाले राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ ।