इटहरी, ९ माघ। त्रिभुवन आर्मी क्लब सोमबार पाहुना टोली ड्रुक युनाइटेड भुटानलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

Advertisement
अब आर्मीको बुधबार थ्रीस्टारसँग पहिलो सेमिफाइनल भेट हुनेछ । दोस्रो सेमिफाइनलका लागि मनाङ मस्र्याङदीले मंगलबार आफ्नो प्रतिद्वन्द्वी पाउने छ । आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ क्लब कोलकोताबीच मंगलबार अन्तिम क्वाटरफाइनल हुनेछ ।
भुटानमै प्रतियोगिता खेलिरहेका कारण राष्ट्रिय टोली नभए पनि युनाइटेडले ए डिभिजन क्लबका खेलाडी आर्मीविरुद्ध उतारेको थियो । सुरुआतमा आर्मीलाई निकै दबाबमा राखेको भुटानी टोलीले धेरै समय त्यसलाई कायम राख्न सकेन । पहिलो हाफको २० मिनेटसम्म भुटानको दवाबमा परेको आर्मीबाट भरत खवासको पासमा पदम तामाङले पहिलो गोल गरे । पहिलो गोल भएसँगै आर्मीले लय समात्यो । भुटानी टोलीले नयाँ मैदान र प्रतिद्वन्द्वी पनि नयाँ भएकाले आर्मीको दबाब झेल्न सकेन । प्यारापिटमा रहेका तीन हजारभन्दा बढी दर्शक आर्मीको समर्थनमा थिए । पहिलो हाफको ४२ औं मिनेटमा भरत खवासको पासमा पुन: पदम तामाङले गोल गरेका थिए । भरतले टोलीका लागि सुन्दर अवसर सिर्जना गरिरहे । खेल २–० ले अवस्थामा पुग्यो ।
पहिलो हाफमा भुटानी टोलीबाट पनि केही राम्रा प्रहार भए । तर ती गोलमा परिणत हुन सकेन । भुटानका जेलिस्थे जेङपोले पोस्ट नजिक एउटा सुन्दर अवसर सिर्जना गरिदिए पनि दोर्जी चुकेको थियो । १९ औं मिनेटमा भुटानका नन्दुङ भुटियाले गरेको प्रहार रिबाउन्ड भयो । त्यसमा फुन्तोषे जिग्मेले प्रहार गरेको बल पोलमा ठोकिएर फर्कियो । भुटानीको तेस्रो प्रहार भने नवयुग श्रेष्ठले क्लियर गरिदिए ।
दोस्रो हाफको २० औं मिनेटमा भरत खवासको पासलाई दिनेश हेन्जनले खेर जान दिएनन् । दिनेशको गोलसँगै आर्मीले खेलमा ३–० एकपक्षीय अग्रता बनायो । सधैंझै दोस्रो हाफमा निकै आक्रामक हुने आर्मीको पुरानो शैली सोमबार यहाँ पनि देखियो । भुटानलाई पूरै दबाबमा राखेको आर्मीका भरत खवास र भुटानी गोलरक्षक छिरिङ डेन्डुपले बक्सबाहिर जुध्दा दुवै घाइते भए । झन्डै २५ यार्ड अगाडि आएका छिरिङले गलत टयाकल गरेका कारण पहेँलो कार्डको सामना गरे ।
दोस्रो हाफको ३२ औं मिनेटमा आर्मीले राम्रो अवसर गुमायो । नवयुगको प्रहार पोलमा लागेर फर्किएपछि पुन: भरतले प्रहार गरे । तर बल पोस्ट माथिबाट आकासियो । त्यसको दुई मिनेटपछि पेनाल्टी बक्सनजिक मिहिनेतपूर्वक नियन्त्रणमा लिएको बलमा आर्मीका टंक बस्नेतले गोल गर्दै खेल ४–० को स्थितिमा पुर्‍याए । ४० औं मिनेटमा टंकको पासमा दिनेश हेन्जनले व्यक्तिगत दोस्रो गोल गरे । खेलमा आर्मीको अग्रता ५–० भयो । लगातार गोलको सामना गर्नुपरेपछि भुटानी टोलीले गोलरक्षक परिवर्तन गर्‍यो । कप्तानसमेत रहेका छिरिङको स्थानमा थोरै समय नामग्यालले पोस्ट सम्हालेका थिए । खेलमा म्यान अफ द म्याच आर्मीका पदम तामाङ भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
भुटानका प्रशिक्षक चेन्चो दोर्जीलेआफ्ना राष्ट्रिय खेलाडीहरू भारतमाभइरहेको विभिन्न खेलमा सहभागी भएकाले आफूले विभिन्न क्लबबाट खेलाडी जम्मा गरेर खेल्न आएका कारण तालमेल मिल्न नसकेको बताए । उनले भने, ‘सबै खेलाडी सँगै अभ्यास गर्न समयसमेत भएन, त्यसैले खेलमा तालमेल देखिएन ।’
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भुटान कस्तो टिम हो भन्ने बुझ्न आफ्नो टिमलाई २० मिनेट जति समय लागेको र त्यसपछि नै टिम लयमा फर्किएको बताए । उनले भने, ‘गोल सुरुमै निस्किएपछि खेलाडीको आत्मविश्वास बढै गएकाले फराकिलो अन्तरको जित निकाल्न सक्यौं । तर अझै हामीले पूरा फर्ममा खेल्न सकेका छैनौं ।’
आजको खेल
राष्ट्रिय जागृतिविरुद्ध गरिफा स्पोर्टिङ कोलकाता
इटहरी रंगशाला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!