- रबिन कटेल/संगालोखबर

धनकुटा, २ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै जिल्लाबासीले आज क्षेत्रीय प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् । आन्दोलन परिचालन समितिको आवहनमा क्षेत्रीय प्रशासन पुगेका जिल्लाबासीले दिउँसो २ देखि ४ बजेसम्म धर्ना दिदै राजधानी घोषणाको माग गरेका हुन् ।

धर्नाका लागि मदनचौकबाट जुलुशसहित सयौंको संख्यामा जिल्लाबासी क्षेत्रीय प्रशासन कार्यालय पुगेका थिए । धनकुटालाई राजधानी घोषणाका लागि दवावमुलक नारा लगाउँदै गएको जुलुशमा सहभागीले क्षेत्रीय प्रशासन कार्यालयको मुल गेटमा धर्ना दिएका हुन् ।

धर्नासँगै भएको कोणसभालाई संबोधन गर्दै बक्ताहरुले धनकुटेलीले गरेको शान्तिपुर्ण आन्दोलनलाई कमजोर नठान्न सरकारलाई चेतावनी दिएका छन् । जुनसुकै हालतमा धनकुटालाई राजधानी घोषणा गर्न माग गर्दै उनीहरुले सरकारले धनकुटेलीको मागलाई नबुझेमा जस्तोसुकै आन्दोलन चर्काउँन पनि तयार रहेको बताएका छन् ।

सभामा प्रदेशसभाका सांसद ईन्द्रमणी पराजुली, जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, उप–प्रमुख बंगलादेवी राई, धनकुटा नगरपालिकाका उप–मेयर सकुन्तला बस्नेत, चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल, आन्दोलन परिचालन समितिका संयोजक सुन्दरवावु श्रेष्ठ, उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तितुङ, पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई लगायतले संबोधन गरेका थिए ।

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले बिगत ५ साता यता निरन्तर आन्दोलन गर्दै आएका छन् । सरकारले अस्थायी राजधानीको खाकामा बिराटनगरको नाम उल्लेख गरेको समाचार सार्वजनिक भएपछि बिरोध जनाउँदै ६ दिनसम्म आमहड्ताल गरिएको थियो ।

जिल्लाबासीले आक्रामक रुपमा प्रदर्शनमा उत्रिएर क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । तर, सरकारले तत्काल राजधानी नतोक्ने संकेत गरेपछि आन्दोलनलाई परिमार्जन गरिएको हो ।

आमहड्ताल पश्चात दवावका लागि कोशी राजमार्गमा दैनिक चक्काजाम गरियो । हरेक हिसावले प्रादेशिक राजधानीका लागि उपयुक्त रहेको भएपनि सरकारले प्रादेशिक राजधानी घोषणा गर्न आनाकानी गरेको भन्दै जिल्लाबासीले प्रादेशिक राजधानी स्वःघोषणासमेत गरेका छन् । उनीहरुले धनकुटालाई प्रादेशिक राजधानी स्वःघोषणा गरी सरकारी कार्यालयमा मन्त्रालयको साईनबोर्ड राखेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!