काठमाडौं, २८ पुस । एउटा महलभित्र विभिन्न प्रयोग गरेर बस्ने एक युवा वैज्ञानिकको भेट एक युवतीसँग हुन्छ । उनीहरूबीच प्रेम हुन्छ र दुवैले प्रेमका गीत गाउँछन् । असाध्यै मन पराए पनि वैज्ञानिक युवकले आफ्नो केही रहस्य प्रेमिकालाई बताएको हुँदैन, तर जब प्रेमिकाले उसको रहस्य थाहा पाउँदै जान्छे अनि रहस्यमाथिको पर्दा उघ्रिँदै जान्छ ।
रहस्यमय प्रेमकथामा आधारित ओमप्रतीक गुरुङको लेखन तथा निर्देशनको चलचित्र ‘बटरफ्लाई’ आज शुक्रबारदेखि देशभरि एकसाथ प्रदर्शन भएको छ । पाल्पा, पोखरा आदि स्थानमा छायांकन गरिएको चलचित्र ‘बटरफ्लाई’ मा प्रियंका कार्की तथा आर्यन अधिकारी मुख्य भूमिकामा छन् ।
अभिनयका कारण चर्चामा रहेका अभिनेता अर्पण थापा पनि एउटा रहस्यमय भूमिकामा प्रस्तुत हुने यो चलचित्रमा राजेशपायल राई, अर्जुन पोखरेल, अञ्जु पन्त तथा युवराज चौलागाईंको स्वरका सुमधुर गीतहरू सुन्न पाइन्छ । चलचित्र ‘बटरफ्लाई’ का निर्माता सरोज शाह तथा मन्दिल श्रेष्ठ हुन् ।