धरान, २५ पुस। सर्वोच्च अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतको आदेसमा प्राध्यापक डा गोविन्द केसीलाई गिरफ्तार गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गठित ‘प्रा.डा. गोविन्द केसी ऐक्यवद्धता समूह’ले न्याय क्षेत्रले आफ्नो गरिमा घटाएकोमा चिन्ता र आक्रोस व्यक्त गरेको छ ।

समुहका संयोजक डा. नविन भट्टले नैतिकताका प्रतिमूर्ति प्रा.डा. गोविन्द केसीलाई हिरासतमा राख्न सर्वोच्च अदालतद्वारा गरिएको आदेश खारेजी गर्न माग गर्दै भने, ‘नेपालको परिवेशमा डा. गोविन्द केसीको सत्याग्रह परिवर्तनको संखघोष र सुसंस्कृत राजनीतिको दियो हो । सर्वोच्च अदालत न्यायविहीनहरूको आवाज र आवाजविहीनहरूको न्यायको आश हो । नैतिकताको खडेरी परेको वर्तमान समयमा सर्वोच्च अदालत सबैको आशाकेन्द्र थियो । तर नियमकानुन र सामाजिक उथलपुथलको अन्तिम व्याख्याता सर्वोच्च अदालतले आफ्नो मनलाग्दी निर्णय गर्नु न्यायको धज्जी उड्नु हो ।’
उनले न्याय स्थापना, विधिको शासन र सामाजिक उत्तरदायी सरकार निर्माणका निम्ति संघर्षरत डा. केसीलाई अव्यवहारिक एवं अशिष्ट ढंगमा हिरासतमा लिनु नैतिकताका मूर्तिको अपहेलना भएको बताए । डा. भट्टले शान्तिपूर्ण अनसनमा बसिरहेको व्यक्तिलाई पक्राउ गरी हिरासतमा लिनु अत्यन्त निकृष्ट कदम भएकाले सर्वोच्च अदालतले आफ्नो साख गिराएको बताए ।
यसैबीच समुहले बहालवाला प्रधानन्यायाधीश गोपाल पराजुली आफैं किर्ते नागरिकताको मुद्दामा अदालतमै कसुरदार रहेको कुरा सबैमा छर्लङ्गै भएको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘सम्माननीय दामोदरप्रसाद शर्मा प्रधानन्यायाधीश हुँदा मेडिकल माफियाहरूको न्यायाधीशहरूसंगको सेटिङका अडियो रेकर्डहरू समेत सबैसंग सुरक्षित नै छन् । अन्तिम व्याख्याता भयो भन्दैमा जेसुकै जस्तोसुकै पनि गर्न पाइन्छ भन्ने अधिकारको छुट कसैलाई पनि छैन, चाहे त्यो सर्वोच्च अदालत नै किन नहोस् ।’
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्याय स्थापनाकालागि आफ्नो अडानमा अडिक हुँदा माफियायुक्त नेताहरुले कार्कीलाई हटाउन गरेको प्रयास कसैबाट नलुकेको जिकिर गर्दै विज्ञप्तीमा अदालतद्वारा डा. गोविन्द केसीलाई पक्राउ गर्न उर्दी जारी गरेको निर्णय एकदमै बदनियतपूर्ण एवं खेदजनक रहेको जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा जीवन धमलाले बताए । उनले भने, ‘मेडिकल माफियाको जति पनि मुद्दाहरु गोपाल पराजुलीको बेन्चमा पर्नु संयोग होइन । कतै न कतै उनी जोडिएका देखिएकाले डा. केसीले अनसन बसेको हो ।’
सर्वोच्च अदालतले आफ्नो निर्णय सच्याइ डा. केसीका विरूद्ध जारी गरिएको पक्राउपुर्जी तुरुन्त फिर्ता लिन जोडदार माग गरेको उनले बताए । उनले भने, ‘हामी अदालतप्रति विस्वस्त छौं । तर डा. केसीको सवालमा अदालतका विरूद्ध जाने अवस्था ननिम्ताउन अनुरोधसहित चेतावनी दिन चाहान्छौं ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!