नयाँपत्रिका

बलिउडमा सन् २०१८ मा थुप्रै फिल्म रिलिज हुँदै छन् । तर, चर्चित केही सेलेब्रिटीका फिल्म भने यो वर्ष दर्शकले हेर्न पाउने छैनन् । त्यो किन हो भने, कतिपय कलाकारको हातमा फिल्म परेका छैनन् । अनि कुनै कलाकारको यो वर्ष फिल्म सुटिङ त हुँदै छ, तर प्रदर्शन मिति सन् २०१९ लाई तोकिएको छ । भारतीय अनलाइनले उल्लेख गरेअनुसार सन् २०१८ मा प्रियंका चोपडा, विपाशा बसु, विद्या बालन, विवेक ओबरायलगायतका चर्चित सेलेब्रिटीका फिल्म रिलिज हुने छैनन् ।

Advertisement

विद्या बालन

सन् २०१८ मा दर्शकले विद्या बालनको नयाँ फिल्म हेर्न पाउने छैनन् । सन् २००५ मा ‘परिणीति’ फिल्मबाट हिरोइन बनेकी विद्याले त्यसपछि ‘लगे रहो मुन्ना भाइ’, ‘भुलभुलैया’, ‘डर्टी पिक्चर’, ‘कहानी’लगायतका सुपरहिट फिल्म दिएकी छिन् । पछिल्लो समय गत वर्ष उनको ‘तुम्हारी सुल्लु’ रिलिज भएको थियो । तुम्हारी सुल्लु फ्लप भयो । अचेल विद्या फिल्मविहीन छिन् ।

आदित्य राय कपुर

आदित्य राय कपुरलाई पनि सन् २०१८ मा पर्दामा देख्न पाइने छैन । सन् २००९ मा ‘लन्डन ड्रिम्स’ नामक फिल्मबाट डेब्यु गरेका आदित्यको पछिल्लोपटक गत वर्ष ‘ओके जानू’ रिलिज भएको थियो । फिल्म चलेन । ‘आशिकी २’बाट हिरोका रूपमा चर्चित भएका आदित्यको त्यसपछिको करिअरले उचाइ लिन सकेको छैन ।

विपाशा बसु

विपाशा बसु फिल्मविहीन भएको धेरै भइसक्यो । करणसिंह ग्रोबरसँग बिहे गरेपछि उनको हातमा फिल्म परेको खबर आएको छैन । यद्यपि विपाशा र करणले गत वर्ष एउटा कन्डमको विज्ञापनमा सँगै अभिनय गरेका थिए । विपाशाको हातमा कुनै फिल्म नपरेकाले दर्शकले उनलाई यो साल पनि पर्दामा हेर्न पाउने छैनन् । उनको प्रदर्शित पछिल्लो फिल्म सन् २०१५ को ‘अलोन’ हो ।

प्रियंका चोपडा

सन् २०१८ मा दर्शकले प्रियंका चोपडाको नयाँ फिल्म हेर्न पाउने छैनन् । किनभने, प्रियंकाले यो वर्ष रिलिज हुने कुनै फिल्म साइन गरेकी छैनन् । उनी अब छिट्टै नै रियालिटी सो ‘इन्डियाज नेक्स्ट सुपरस्टार’मा व्यस्त हुनेछिन् । त्यसकारण उनले अफर आएका फिल्म साइन नगरेको बताइन्छ । गत वर्ष अर्थात् सन् २०१७ मा उनको ‘बेवाच’ नामक हलिउड फिल्म रिलिज भएको थियो । बेवाच फ्लप भएको थियो ।

आथिया सेट्टी

अभिनेता सुनील सेट्टीकी छोरी आथिया पनि फिल्मविहीन छिन् । सन् २०१५मा ‘हिरो’ फिल्मबाट हिरोइन बनेकी उनको गत वर्ष ‘मुबारका’ रिलिज भएको थियो । तर, मुबारकाले कुनै कमाल देखाउन सकेन ।

वाणी कपुर

वाणी कपुर बलिउडमा चल्न नसकेकी हिरोइन हुन् । सन् २०१३मा रिलिज भएको ‘शुद्ध देशी रोमान्स’बाट हिरोइन बनेकी उनी पनि फिल्मविहीन छिन् । त्यसैले यो वर्ष दर्शकले उनलाई पर्दामा हेर्नुपर्ने छैन । उनको प्रदर्शित अन्तिम फिल्म ‘बेफिक्रे’ हो । जुन, सन् २०१६ मा रिलिज भएको थियो ।

निमरत कौर

अभिनेत्री निमरत कौर पनि फिल्मविहीन छिन् । त्यसकारण यो वर्ष उनलाई पर्दामा देख्न पाइने छैन । सन् २००५मा ‘यहा’ नामक फिल्मबाट डेब्यु गरेकी निमरतको सन् २०१६ मा ‘एअरलिफ्ट’ रिलिज भएको थियो । उनले ‘वान नाइट विथ द किङ’, ‘द लन्च बक्स’, ‘होमल्यान्ड’लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

श्रुति हसन

अभिनेत्री श्रुति हसनलाई पनि यो वर्ष पर्दामा हेर्न पाइने छैन । श्रुतिले अहिलेसम्म नयाँ फिल्म साइन नगरेकाले त्यसो भएको हो । सन् २००९ मा ‘लक’ फिल्मबाट डेब्यु गरेकी श्रुतिको पछिल्लो फिल्म ‘बहन होगी तेरी’ हो । गत वर्ष रिलिज भएको त्यो फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन । अभिनेता कमल हसनकी छोरी श्रुति दक्षिण भारतीय फिल्ममा निकै व्यस्त हुने गर्दछिन् । उनको दक्षिण भारतीय फिल्ममा वर्चस्व छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!